जडिबुटीमा निर्माण भएको बसपार्क तत्काल नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं । पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो । अदातले काठमाडौं महानगरलाई बसपार्क पूर्व अरनिको यातायात प्रालिको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा कानून बमोजिमको वारेस मार्फत लिखित जवाफ पेस गर्न महानगरलाई आदेश दिएको छ ।
अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे छलफलका लागि असोज १४ गतेका लागि पेसी तोकेको छ । उक्त मितिसम्म बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्न/ नगराउन काठमाडौं महानगरको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
अरनिको यातायात प्रालिले झन्डै १० करोड रुपैयाँ लगानी अनुमानमा डिजिटल भुक्तानीलगायत अनलाइन सेवासहितको बसपार्क निर्माण गरेको हो ।