ह्याम्स अस्पतालको व्यापार बढ्यो, एकै वर्षमा डेढ अर्बको कारोबार
काठमाडौं । धुम्रबाराहीस्थित ह्याम्स अस्पतालको २०२२ को व्यापारमा गत वर्षकोभन्दा वृद्धि भएको छ ।
सन् १९९८ मा खुलेको ह्याम्स अस्पतालले २०१९ मा ३७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२० मा ६ करोड र २०२१ मा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको ह्याम्सले २०२२ मा १ अर्ब ५५ करोड ३० लाखको व्यापार गरेको छ।
अस्पतालले २०२३ को सुरुवाती ९ महिनामा १ अर्ब १ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
ह्याम्स अस्पताल सन् २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । सय बेडको सुविधासहितको यो अस्पतालको अध्यक्षमा रामशरण भण्डारी रहेका छन् भने प्रमुख लगानीकर्ता पनि उनै भण्डारी र उनको परिवार रहेको छ ।
ह्याम्पसले हाल ८७ करोड ३७ लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिंग गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ह्याम्स अस्पताललाई ८५ करोड ३७ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि त्रिपल बि माइनस रेटिङ दिएको छ भने २ करोडको अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।