डाक्टरहरूलाई साफ चुटेर आएँ भन्ने इन्स्पेक्टर निलम्बित
काठमाडौं । ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै भीडलाई उक्साएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकबीचको विवाद समाधान गर्न खटिएका इन्स्पेक्टर श्रेष्ठले डाक्टरहरूलाई साफ चुटेर आएको र आफ्नो कुटाइबाट डाक्टर रगताम्मे भएको भनेको भिडियो सार्वजनिक भएको थियो।
उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति बनेको छ।
मणिपाल अस्पतालमा शान्ति सुरक्षाका लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ ।
सोमबार मणिपाल अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको निधन भएपछि उनका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए । आफूहरुमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।