विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताए ।

विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै उनले संसदबाट सच्याएर मात्रै पारित हुने बताए । अहिले बनाउने कानूनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानून बन्नुपर्ने उनले बताए । नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने उनको भनाइ छ । शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने थापाको भनाइ छ ।
सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको बताए ।


क्लिकमान्डु