२४ वटा सूचीकृत कम्पनीलाई पत्र काट्दै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न २४ वटा कम्पनीलाई जानकारी माग गर्दै पत्र काट्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमासिक वित्तीय विवरण समयमा नै पेस नगरेको भन्दै त्यसको जानकारी माग गर्दै पत्र लेख्ने भएको छ । २२७ वटा कम्पनीमध्ये २४ वटा कम्पनी समयमा नै सूचना नदिएको भन्दै पत्र काट्न लागेको हो ।

तीनवटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ११ वटा जलविद्युत् कम्पनी, ६ वटा माइक्रोफाइनान्स, अन्य एउटा र ट्रेडिङ कम्पनी एउटालाई पत्र काट्न लागेको बोर्ड स्रोतले जनाएको छ ।

बोर्डले कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र कणर्ाली डेभलपमेन्ट बैंक तथा बेस्ट फाइनान्स र पोखरा फाइनान्सलाई पत्र काट्ने तयारी गरेको छ ।

बोर्डले पत्र काट्न लागेका ११ वटा जलविद्युत कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, कुथली बुखरी स्मल हाइड्रोपावर, मोदी इनर्जी, माउन्टेन हाइड्रो, पञ्चकन्या माई, रावा इनर्जी, शिवश्री हाइड्रो र सुपर माई हाइड्रोपावर छन् ।

यस्तै ६ वटा माइक्रोफाइनान्स कम्पनीमा आरम्भ चौतारी लघुवित्त, बीपीडब्लू लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, समाज लघुवित्त र सिर्जनशील लघुवित्त वित्तीय संस्था छन् । यस्तै अन्य कम्पनीमा नेपाल रि-इन्स्योरेन्स रहेको छ भने ट्रेडिङमा विशाल बजार कम्पनी रहेको छ ।

यी कम्पनीलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली- २०७३ को नियम २६ अनुसार सूचना किन उपलब्ध नगराएको भन्दै पत्र काटिने भएको छ । नियम २६ मा वित्तीय विवरण तथा सूचना उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्था छ ।

नियम २६ को उपनियम १ मा ऐन तथा यस नियमावलीबमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको अनुसूची- १४ मा उल्लिखित विवरण त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्नुपर्नेछ र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ ।

त्यो नभएको खण्डमा धितोपत्रसम्बन्धी ऐन २०७३ को दफा १०१ को ४ बमोजिम कारबाही हुने बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए । दफा १०१ को ४ मा कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम राख्नु, बनाउनु तयार गर्नु वा पेस गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेस नगरेमा नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

पहिलो चरणमा बोर्डले जानकारी माग गर्दै पत्र काट्नेछ । त्यसको चित्तबुझ्ने जवाफ नआएको खण्डमा कारबाही गर्ने तयारीमा सेबोन रहेको छ ।


रवि धिताल