गभर्नरको निधन भएको भन्दै अफबाह फैलाउनेलाई कारबाही गर्न राष्ट्र बैंकले साइबर ब्यूरोमा उजुरी दियो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको निधन भएको भन्दै सामाजिक सञ्जालमा अफबाह फैलाउनेलाई कारबाही गर्न माग गर्दै नेपाल राष्ट्र बैंकले प्रहरीमा उजुरी दिएको छ । राष्ट्र बैंकले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको हो ।

गभर्नरको निधन भएको भन्दै अफबाह फैलाउनेलाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोमा उजुरी दिइएको राष्ट्र बैंकका सह–प्रवक्ता मुक्ति सापकोटाले जानकारी दिए ।

‘ज्यूँदो मान्छेलाई मरेको भनेर झुटो सूचना पोस्ट गरेर सामाजिक सञ्जालमा अफबाह फैलाउनेलाई कानूनअनुसार कारबाही गर्न लेखी पठाएका छौं,’ सहप्रवक्ता सापकोटाले क्लिकमान्डुसँग भने ।

‘सेयर बजारको मनोविज्ञानवेत्ता-बुलबहादुर’ नाम गरेको फेसबुक पेजमा भदौ २१ गते सामाजिक सञ्जालमा राष्ट्र बैंकका गभर्नर महाप्रसाध अधिकारीको सवारी दुर्घटनामा परि निधन भएको भन्ने झुटो पोष्ट गरेको थियो । एउटा सरकारी नम्बरप्लेट भएको गाडी पल्टिएको फोटोसँगै गभर्नर महाप्रसाद अधिकारीको फोटो राखेर उक्त फेसबुक पेजले उनको निधन भएको अफबाह फैलाएको थियो ।

र, उक्त पोस्टमा अधिकांशले हार्दिक श्रद्धान्जली भनेर लेखेका छन् भने केहीले यस्तो अफबाह नफैलाउन चेतावनीसमेत दिएका थिए । राष्ट्र बैंकले प्रहरीमा उजुरी दिएसँगै अहिले उक्त फेसबुक पेज नखुल्ने बनाइएको छ ।

कतिपय सेयर बजारका लगानीकर्ताहरुलाई राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजार घटेको भन्ने लागेको छ । राष्ट्र बैंकले सर्वसाधारणले बैंकमा राखेको निक्षेप सुरक्षित राख्न ऋणमा केही कडा नीति अबलम्बन गरेको छ । जसकारण विगतमा क्षमताभन्दा बढी ऋण लिएका वा बैंकबाट लिएको ऋणको दुरुपयोग गर्नेहरु संगठितरुपमा राष्ट्र बैंक र गभर्नरविरुद्ध लागेका छन्। यसले राष्ट्र बैंकका अधिकारीहरुको सुरक्षा चुनौति थपिँदै गएको छ ।


क्लिकमान्डु