डोको बुनेरै बिते साइला चेपाङका ४५ वर्ष



धादिङ । धादिङको गजुरी गाउँपालिका-४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।

आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।

‘पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर १० रुपैयाँमा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो,’ चेपाङले भने, ‘अहिले डोको बिक्न छोड्यो ।’ चौकीभञ्ज्याङ र आसपासका सबैको पुर्ख्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेको उनले बताए ।

चेपाङ कतिले पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका छन् तर उमेरले ७० वर्ष नाघिसकेका साइला पुर्ख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था छन् । डोको बिक्न छोडेपछि उनको आम्दानीको स्रोत पनि टुटेको छ ।

डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । ‘हाम्रो मात्र होइनऽ गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन,’ उनले भने, ‘अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउँदैनन् ।’

विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा १० रुपैयाँसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । ‘त्यस समयमा दुई रुपैयाँमा एक पाथी नुन, ६ रुपैयाँमा एक लिटर खानेतेल पाइन्थ्यो । दैनिक १०-१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो,’ उनले भने, ‘अहिले डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।’

उनकी श्रीमती तिलकुमारीले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन् । ‘त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो,’ उनले भनिन्, ‘अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलि-पर्सि कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।’

डोकोको आकार हेरेर तीन सयदेखि पाँच सयसम्म र खाङ्ग्रेको एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताए । तर निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ छ ।

‘गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । ६ देखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ,’ उनले भने ।

प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै संकटमा परेको जितबहादुर चेपाङले बताए । डोकोको प्रयोगमै कमी आएको उनको भनाइ छ । ‘गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्,’ उनले भने, ‘अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । त्यसले हाम्रो पेसा संकटमा पर्दै गएको हो ।’

चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मुख्य पेसा डोको बुनाइ हो । तर डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् ।


रवि धिताल