नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेनले अस्वीकार गरे चीनको भ्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमणमा नजाने घोषणा गरेका छन् ।
चीनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा सार्वजनिक गरेपछि चीनको भ्रमणमा नजाने मेयर बालेन्द्र शाह (बालेन)ले घोषणा गरेका हुन् ।
बालेनले सामाजिक सञ्जालमार्फत चीनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको नक्सामा नेपालका यी ठाउँलाई समावेश नगरिएको भन्दै आलोचना गरेका छन् । उनले नेपाली भुभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालको संवेदनशिलतामाथि चालेको गलत कदम भएको बताएका छन् ।
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं,’ बालेनले लेखेका छन्, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।’
सँगै बालेनले आफूलाई चीनको निमन्त्रणमा गरिएको ५ दिने भ्रमणको आमन्त्रणलाई पनि अस्वीकार गरेका छन् । उनले नैतिकताको आधारमा नजाने निर्णय गरेको जनाएका छन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं,’ उनले लेखेका छन्, ‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको उनको भनाइ छ ।