नेपालबाट विदेशी लगानी फिर्ता हुने रकम १७४ प्रतिशतले बढ्यो



काठमाडौं । नेपालमा लगानी गरेका विदेशी कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १ सय ७४ प्रतिशत बढीले नेपालबाट लगानी फिर्ता भएको हो ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट भारतीय लगानीकर्ता बाहिरिँदा गत वर्ष उच्च लगानी फिर्ता देखिएको हो ।

भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल मेडिकल कलेज सञ्चालन गरेको थियो । मेडिकल कलेज सञ्चालनमा अवरोध भएको भन्दै भारतीय पक्षले आफ्नो लगानी बेचेको हो ।

व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले ७५० शय्याको मणिपाल अस्पताल सवा ३ अर्ब रुपैयाँमा खरिद गरेका थिए । मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो । सरकारले मणिपाललाई ४९ वर्षको अवधि दिएको थियो । तर २७ वर्षमात्रै चलाएर २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीय पक्षले लगानी फिर्ता लगेको हो । अस्पतालमा ११ सय बढी कर्मचारी कार्यरत छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ६५ करोड ८७ लाख रुपैयाँ लगानी फिर्ता भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८मा नेपालमा लगानी गरेका विदेशी कम्पनीले ३९ करोड६७ लाख रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका थिए ।

गत आर्थिक वर्षमा ७ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । लगानी फिर्ता भएको रकम घटाउँदा खुद् वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँमात्र थियो । जुन अघिल्लो आर्थिक वर्षभन्दा ६८ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्षमा लगानी फिर्ता घटाउँदा १८ अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।


क्लिकमान्डु