शिखर इन्स्योरन्सको नयाँ योजना: साइलेजको पनि बीमा



काठमाडौं । नेपालमा साइलेज बनाउन मिल्ने बाली र बालीबाट साइलेजको उत्पादनको बीमालेख शिखर इन्स्योरेन्सले सुरू गरेको छ ।

हाल नेपालबाट उत्पादन र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजारसमेत बनाउन सकेको साइलेजको अब बीमा गर्न सकिने भएको हो ।

साइलेज बीमाले साइलेज बनाउन लगाइने बालीको लागत मूल्यका आधारमा सुरक्षण गर्छ भने कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो बिधिबाट भण्डारण गरी साइलेज बनाउने प्रक्रिया सुरू गरेपश्चात् सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरिएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीका रिसर्च एन्ड डेभलपमेन्ट विभाग प्रमुख एवं महाप्रबन्धक उदितप्रसाद काफ्लेका अनुसार नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकताअनुसारको बीमालेख ल्याउने उद्देश्यसहित साइलेज बाली बीमालेख सुरू गरेको हो ।

कम्पनीका बजार विभागका वरिष्ठ महाप्रबन्धक पुष्कर महतका अनुसार नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकले भने निर्यात गर्न पर्याप्त घाँस नभएको बताउँदै आएका छन् । ‘हाललाई नेपाल बीमा प्राधिकरणबाट स्वीकृत यस बीमालेखले साइलेज उत्पादकको जोखिम पहिचान गरी कृषकलाई निर्धक्क रूपमा घाँसखेतीमा लगानी गर्न प्रोत्साहन बढ्ने विश्वास लिएका छौँ,’ उनले भने ।

नेपालमा कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखबमोजिम परेका दाबी, दाबीको व्यवस्थापन र फर्छ्यौटका आधारमा कृषि विभाग र विश्व खाद्य संगठनले ४२औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान गरेको थियो ।

हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुण नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउँदमा वा कृषकको आवश्यकताअनुसार प्रयोग गर्ने हेतुले हावा नछिर्ने गरी प्याकेजिङ गरी राखिएको पशु आहारालाई साइलेज भनिन्छ । साइलेजको गुण धेरै र मूल्य पनि कम भएकाले कृषि लागत कम गर्ने हेतुका साथ नेपालमा साइलेजको सम्भावना र मागसमेत धेरै छ ।


क्लिकमान्डु