‘बालेनको सहर’, हेर्न लाग्छ रहर
काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ राजधानी सहर काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित भएको १५ महिना बितिसकेको छ । दिनगन्ती गर्दा एउटा ऊर्जाशील युवाका लागि ४५० दिन निकै लामो समय हो । यसबीचमा उनले गरेका धेरै काम चर्चा र विवादका बीच सतहमा छन् । तत्कालका लागि कतिपय कामले सकारात्मक नतिजा दिए, कतिपयले नकारात्मक । तर, एउटा दुःखद सत्य के भने महानगर प्रमुख सम्हालेको डेढ वर्षनजिक पुग्दै गर्दा काठमाडौंमा कति घर छन् भनेर सोध्यो भने बालेनलाई सम्भवतः थाहा हुने छैन । किनकि, उनले नगर प्रोफाइल बनाएकै छैनन् ।
बालेनमा नगर बनाउन हुटहुटी तीव्र छ । उनीप्रति नगरबासीको आशा र अपेक्षा पनि उत्तिकै छ । तर, १५ महिनाअघि व्यक्त भएको त्यो मत बालेनले अद्यापि कायम राखेका छन् कि छैनन् त ! नगरबासीका अपेक्षाअनुसार काम भइरहेका छन् कि आफ्नै मुडमा बालेन चलिरहेका छन् ? नगरले खोजेको विकास कस्तो हो ? काठमाडौं राजधानी सहर पनि भएका हिसाबले बाँकी ७५२ स्थानीय तहले यसलाई कुन रुपमा हेर्छन् ? सुन्दा सामान्य लाग्ने यस्ता प्रश्न र जिज्ञासाबारे बालेन जानकार हुनुपर्छ ।
बुधबार साँझ सार्वजनिक बसले जडिबुटीनजिकै मनोहरा पुल पार गर्दै थियो । बसकी एक यात्रुले भनिन्, ‘बालेनको सहर कति सफा भइसक्यो, भक्तपुर आएपछि डुङ्डुङ्ती गन्हाएर यस्तो छ ।’
काठमाडौं महानगर पारि र वारिबीच रहेको भिन्नता उनीबाट अभिव्यक्त भएको थियो । काठमाडौंमा मिर्मिरे उज्यालो नहुँदै सडक सफा गर्न ब्रुमर निस्किसकेका हुन्छन् । सडकमा धुलो-हिलो कम भेटिन थालेको छ । सडकका बीच-बीचमा बिरुवा रोपिएको ठाउँ (ग्रिनबेल्ट) पनि सफा छन् । पसल र अन्य व्यावसायिक संस्थाले जथाभावी राखेका होर्डिङबोर्ड हटाइएका छन् ।
सार्वजनिक जमिन मिचेर बनाइएका संरचना हटाइएका छन् । महानगरको क्षेत्रभित्र पर्ने साना सडक करिब सबै कालोपत्रे र ढलान भएका छन् । नदीकिनारका कतिपय बस्ती हटे, कतिपय हटाउने प्रयास भइरहेका छन् । इन्द्रचोक, असनजस्ता पुराना सहरहरु फराकिला भएका छन् । फुटपाथ हेर्न र हिँड्न लायक बनेका छन् । जथाभावी सडक ओगटेर सामान बेच्न राखिने साइकलहरुको लर्कोबाट राजधानीले करिब उन्मुक्ति पाएको छ ।
‘सहर साँच्चिकै सहर जस्तो बन्दै गएको छ,’ काठमाडौं महानगरपालिका-३१ घर भएका रमेशमान शाक्य भन्छन्, ‘काठमाडौंलाई बालेनजत्तिकै मान्छे चाहिएको रहेछ, हामीले सही मान्छे चुनेछौं भन्ने लागेको छ ।’
तर, बालेनले मूल सडकहरु मात्र नभएर भित्री सडक र बजार क्षेत्र पनि सफा र हराभरा बनाउनुपर्ने उनले बताए । ‘महाबौद्ध चोकबाट भोसिको जाने बाटो र असनबाट न्ह्यायकंतल्ला जाने बाटोहरु निकै खराब छन् । नयाँ बानेश्वर, कोटेश्वर र रत्नपार्क मात्र सफा राखेर हुँदैन, मेयरले सबैतिर हेर्नुपर्छ,’ उनले भने, ‘हामीलाई चाहिएको विकास हो ।’
यतिको ऊर्जाशील युवाले ५ वर्ष यो सहरको नेतृत्व गर्न पाउँदा ठूलो परिवर्तन हुने विश्वास हामी मतदातामा पलाइसकेको छ ।
काठमाडौं नगरबासीलाई मात्र होइन, भक्तपुरको मध्यपुर ठिमीका बासिन्दा पनि काठमाडौं हेरेर रमाइलो मान्न बाध्य छन् । ‘मध्यपुर ठिमीले त साह्रै खराब मान्छे छानेछ,’ मध्यपुर ठिमी नगरपालिका-१ का सुमन दाहालले भने, ‘मनोहराबाट पूर्व लागेपछि सबै छर्लंग्ग हुन्छ, बोल्नै पर्दैन ।’
मनोहरा पुलबाट भक्तपुरतर्फ फोहोर थुपारिएको छ । काठमाडौं कट्नासाथ गन्हाएर नाक फुट्ला जस्तो हुन्छ । सडकबीचको ग्रिनबेल्टमा घाँस र झार पलाएर बिरुवा पुरिएका छन् । ग्रिनबेल्टको आसपासमा धुलो थुप्रिएर उस्तै विजोग छ । पानी पर्दा त्यही धुलो हिलोमा परिणत हुन्छ । सास्ती यात्रुले खेप्नुपर्छ । कोटेश्वर-सूर्यविनायक सडकको मनोहरा कटेपछि दुवैतर्फ प्लास्टिक र अन्य फोहोर यत्रतत्र भेटिन्छ ।
‘काठमाडौं पुगेर फर्किएपछि यस्तै-यस्तै मात्र देखिन्छ,’ दाहालले भने, ‘यहाँका जनप्रतिनिधि सम्झिँदा रिस नै उठ्छ ! तर के गर्ने ? फेरि ५ वर्ष नगर पछि पर्ने भो ।’
काठमाडौं र भक्तपुरमा मात्र होइन, कर्णाली प्रदेशका जिल्लाहरुमा पनि बालेनको क्रेज उस्तै छ । ‘काठमाडौंमा डोजर चलेका समाचार यहाँका बासिन्दाले सुनेका छन्, नगर बनाउन उनले गरिरहेका प्रयासका बारेमा बुझेका छन्,’ सुर्खेतबाट पत्रकारिता गरिरहेका सुदिप पुरी भन्छन्, ‘यहाँका लागि पुराना र नयाँ दल सबैभन्दा माथि बालेन छन् । यसले पनि जनतालाई काम चाहिएको छ भन्ने स्पष्ट पारेको छ ।’
बालेन वास्तवमै काम गरिरहेका छन् । ५ वर्षमा नगरको मुहार फेर्ने संकल्प उनले चालिरहेका विभिन्न कदमले स्पष्ट पार्छन् । अहिले गौरवका १० योजना र २५ स्वर्णिम योजना अघि सारेका छन् । काठमाडौंको मुहार फेर्ने ३५ योजना ३ वर्षभित्र सम्पन्न गर्ने उनको तयारी छ । त्यसका लागि ५ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
गौरवका १० योजनामा ‘उज्यालो सहर, मेरो महानगर’, ‘महानगरले देख्छ’, ‘धुलोरहित सडक’, ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’, ‘मेरो रहर, सुन्दर र हरित सहर’, ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सबैको चाहना, ढुंगेधारा, हिटी र पोखरीको पुनःस्थापना’, ‘सुशासनका लागि अनलाइन सेवा’ र ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ छन् ।
स्वर्णिम २५ योजनामा विद्यालय, खेलकुद, सडक, पिउने पानी, नदी सफाइ, मेट्रो मार्ट, सम्पदा, पर्यटन लगायतलाई प्राथमिकता दिइएको छ । कुनै व्यवधानबिना यी योजना पूरा भइसक्दा राजधानीको मुहार पक्कै फेरिन्छ । तर, बालेनले गर्नुपर्ने मुख्य काम भने अझै गरेका छैनन् । त्यसलाई महानगरपालिकाले कामको सूचीमै राखेको छैन ।
पहिलो अनुच्छेदमै भनिएको ‘नगर प्रोफाइल’ । नगर प्रोफाइल कुनै पनि नगरको विकासको आधारविन्दु हो ।
केही वर्ष अघिसम्म मानिसका अनिवार्य आधारभूत आवश्यकता गाँस, बास र कपास हुन् भनियो । अलि पछि स्वास्थ्य, शिक्षा र अहिले आएर मनोरञ्जनलाई पनि थप गरियो । साना-साना सडक, बिजुली बत्ती, खानेपानी, खहरेमा बनाइएका पुल पनि आधारभूत आवश्यकताभन्दा बढी केही होइनन् ।
मानिसका दैनिक र अनिवार्य आवश्यकतासँग जोडिने यी विषयलाई विकासको नाम दिन जरुरी नै छैन । यी कुनै हालतमा गर्नैपर्छ, जसरी भात खानैपर्छ, सुत्न घर चाहिन्छ नै र नाङ्गो कोही पनि रहनु हुँदैन ।
संसारका सबै देशका लागि विकासका आधारविन्दु एउटै हुँदैनन् । आ-आफ्नो देशको धरातलीय यथार्थसँग विकासको मोडालिटी तय भएको हुन्छ । त्यसलाई पहिल्याउने र सोही अनुसार अघि बढ्न सकेन भने कुनै पनि देश विकासको पथमा लम्किनै सक्दैन ।
विकासका मामलामा हामी निकै कमजोर अवस्थामा हुनुका पछाडि केही कारण छन् । ती कारण खोजविन र निराकरण नै विकासको आधारविन्दु हो भन्ने मेरो धारणा छ । जसको खोजबिन गरिएकै छैन । र, यसको खोजबिन काठमाडौंका बालेनले मात्र होइन, देशभरका ७५३ वटै स्थानीय तहले खोज्न जरुरी छ ।
कोरोनाकालको कुरा गरौं ।
मानव सभ्यता सुरु भएयता पहिलो पटक सन् २०१९ डिसेम्बर ३१ पछि विश्व केही महिना सबै हिसाबले ठप्प भयो । महामारीको विश्वव्यापी प्रभावबाट नेपाल अछुतो रहने सम्भावना नै थिएन । त्यसबेलाको परिस्थितिको सामना गर्न हाम्रा तीनै तहका सरकार रनभुल्लमा परे । यसको मुख्य कारण थियो- तथ्यांक अभाव ।
जब आफ्ना नागरिक चिनिँदैनन् अर्थात् नागरिकको वास्तविक अवस्थाबारे जानकारी नै छैन भने हामी सधैं चुक्छौं । सरकार र नागरिक कहिल्यै जोडिँदैनन् भने साधन र स्रोतबाट लाभ उठाउने कुरा मात्र होइन, अफ्ठ्यारो पर्दा सरकार सहयोग गर्न सक्ने अवस्थामा पनि रहँदैन । कोरोनाकालमा यस्तै भयो । तर, हामीले सिकेनौं ।
तर, अब सिकौं । नगर प्रोफाइल बनाऔं ।
नगरमा नागरिक कति छन् ? महिला, पुरुष, बालक, वृद्ध, अशक्त सबै स्पष्ट गरौं । नगरबाहिर स्वदेशमै भए कहाँ छन् ? के गरिरहेका छन् ? विदेशमा भए कहाँ के गरिरहेका छन् ? कति र कस्तो विषय अध्ययन गरेका छन् ? कुन-कुन पेसा र व्यवसाय अंगालिरहेका छन् ? अर्थात् जीविकोपार्जनको स्रोत के हो ? उसले आफ्नो क्षमताअनुसार आम्दानी गर्न सकेको छ कि छैन ?
कति मानिसका घर छन् ? कतिका छैनन् ? कुन घरमा कुन पेसा व्यवसाय वा अरु के सञ्चालनमा छ ? एकै व्यक्तिका कति घर र जग्गा छन् ? नगरमा सरकारी सम्पत्ति कति छ ? सार्वजनिक सम्पत्ति कति छ ? के-के का रुपमा छन् यस्ता सम्पत्ति ? कुन सम्पत्तिको कसरी प्रयोग भइरहेको छ ?
कहाँ-कहाँ मठमन्दिर छन् ? गुठी कति छन् ? तिनको अवस्था के छ ? नगरमा निजी जग्गा के कति छ ? खेतीयोग्य जमिन कति छ ? कतिमा कुन-कुन खेती भइरहेको छ ? अथवा कृषि फार्म छ कि ? किसानले निर्वाहमुखी पेसा व्यवसाय गरिरहेका छन् कि नाफा पनि कमाइरहेका छन् ? उत्पादित उपज कहाँ-कहाँका बजारमा कसरी पुर्याउने गरिएको छ ? कति खेतीयोग्य जमिनमा खेती गरिएको छैन । खेती गर्न छाडेका मानिस के गर्छन् ? जमिन कुन खेतीका लागि उपयुक्त छ ?
नगरमा जंगल कति छ ? त्यसको सम्भाव्यता के-कस्तो छ ? विदेशबाट अर्बौं रुपैयाँको काठ भित्रिन्छ । देशमा कति छिप्पिएका सालका रुख छन् ? नगरमा तालतलैया या पोखरी के-कति छन् ? तिनको अवस्था के छ ? खोलानाला के-कति छन् ? तिनको उपयोग सम्भाव्यता कति छ ?
स्वास्थ्य संस्थाको अवस्था के छ ? सरकारी र सामुदायिक विद्यालयको अवस्था तथा शिक्षक र विद्यार्थीको अवस्था के छ ? नगरका पर्यटकीय गन्तव्य र सम्भाव्यता के-कस्तो छ ? संस्कार र संस्कृतिको पहिचान पनि गर्नुपर्ला ! साना सडकको नाम । घरको बिमा ।
नगर प्रोफाइलले यस्ता सबै कुरा समेट्छ ।
नगर प्रोफाइलकै कारण सरकार नागरिकसँग सहजै जोडिन्छ । कुन व्यक्ति ज्याला मजदुरी गर्छ । आज कमाउँछ, आजै खान्छ । कुनै अप्रत्यासित विपत्ति आउँदा उसलाई काम बन्द भएको दिनदेखि नै सरकारले भरणपोषण गर्नुपर्छ ।
कोही मानिस ७ दिन पछिदेखि अफ्ठ्यारोमा पर्न सक्छन् । कोही ६ महिना र कोही वर्ष दिनसम्म पनि अफ्ठ्यारोमा नपर्न सक्ने आर्थिक स्थितिको हुनसक्छ । नगर प्रोफाइल भए राहत वितरणमा कुनै समस्या आउँदैन । साधन स्रोतको दुरुपयोग हुँदैन ।
कुन व्यक्तिसँग के-कस्तो सीप छ भन्ने जानकारीले सीप विकास गर्न, सीप हस्तान्तरण गर्न र दीर्घकालीन लाभ लिन सजिलो हुन्छ । उत्पादनका क्षेत्र र वस्तु निर्धारण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहिचान गर्न सहज हुन्छ । उत्पादनका आधारमा कृषि उपजलाई जस्ताको तस्तै या फरक प्रोडक्ट बनाएर बजारमा लैजान सकिन्छ ।
सहरी गरिब पहिचान हुन्छन् । उनीहरुको व्यवस्थापनका लागि योजना बनाउन सकिन्छ । नगर प्रोफाइलकै कारण सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउन सहज हुन्छ । सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुको विकल्प हामीसँग छैन । अहिले भोटका लागि नगद वितरणमा प्रतिस्पर्धा भइरहेको छ । यसलाई रोक्ने मूल अस्त्र भनेकै योगदानमा आधारित सामाजिक सुरक्षा कोष हो । कोषलाई प्रभावकारी बनाउने हो भने १५ वर्षपछि राज्यकोषबाट भत्ता व्यहोर्नुपर्ने अवस्थाका मानिसको संख्या निकै न्यून हुनेछ ।
अहिले प्राकृतिक विपत्तिबाट कसैले बाली गुमाउँछन्, कसैले घर गुमाउँछन् तर त्यसको सबै आर्थिक क्षति सरकारले व्यहोर्नुपर्छ । त्यसो हो भने बिमा अवधारणाको के काम ? घर, बालीलगायतलाई बिमाको दायरामा ल्याउने र बिमा दाबी भुक्तानीलाई व्यावसायिक बनाउने हो भने क्षतिका बेला राज्यकोषबाट पैसा बाँड्नै पर्दैन । नगर प्रोफाइलकै कारण यो पनि सहज हुन्छ ।
स्थानीय तहको एकीकृत तथ्यांक प्रदेश सरकारसँग र प्रदेश सरकारसहितको एकीकृत तथ्यांक केन्द्रसँग रहन्छ । परिणामतः देश नै व्यवस्थित हुन्छ । सधैं ताजा तथ्यांक अद्यावधिक भइरहन्छ । हरेक १० वर्षमा जनगणना गर्नै पर्दैन । कृषि गणना गर्नै पर्दैन । औद्योगिक गणना गर्नै पर्दैन । ठूलो खर्च र समयको बचत हुन्छ ।
झापाको मान्छेले दार्चुलाको र कञ्चनपुरको मान्छेले ताप्लेजुङको हरेक जानकारी लिन कसैलाई सोध्नु पर्दैन । त्यसपछि, केन्द्र सरकार साना-मसिना काममा लाग्नै पर्दैन, राष्ट्रिय गौरवका परियोजनामा मात्र केन्द्रित भए पुग्छ ।
बालेन जे गरिरहेका छन्, ठिक गरिरहेका छन् । अब नगर प्रोफाइल पनि बनाउन् । अरु गाउँपालिका र नगरपालिकाले पनि प्रोफाइल बनाउन् ।
कत्ति ढिला नगरी सबै स्थानीय तहले ‘गाउँ प्रोफाइल/नगर प्रोफाइल’ बनाउन् । वेबसाइट निर्माण गरेर ‘गाउँ प्रोफाइल/नगर प्रोफाइल’ लाई जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) र जीआईएस (जिओग्राफिक इन्फर्मेसन सिस्टम) मा राखुन् । विकासको आधार विन्दु तयार गरुन् ।