निर्माणाधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएनः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए ।
सभामुख घिमिरेले अहिले निर्माणाधिन संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको उनको भनाइ थियो ।
अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उनले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए ।
सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।