युनिलिभरमा ६ महिनाअघि १९ लाख लगानी गर्नेको सम्पत्ति पुग्यो ३८ लाख
काठमाडौं । नेपालको सेयर बजार अहिले सुस्ताएको छ । डेढ वर्षदेखि सेयर बजार परिसूचक नेप्से १८ सयदेखि २३ सयको बीचमा घुमिरहेको छ ।
तर, राम्रो कम्पनी चिनेर लगानी गर्दा जहिले पनि कमाउन सकिन्छ भन्ने उदाहरण सेयर बजारमा प्रशस्त पाउन सकिन्छ । यसको एउटा उदाहरण हो युनिलिभर नेपाल लिमिटेड ।
२०७९ माघ २३ गते सोमबार नेप्से परिसूचक २१००.७ अंकमा थियो । त्यसबेला युनिलिभरको प्रतिकित्ता सेयर मूल्य १९ हजार १०० रुपैयाँ थियो ।
६ महिना नबित्दै २०८० साउन १ गते युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ३७ हजार ९९५ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको भोलिपल्ट साउन ८ यता बजार १३५ अंकले घट्दा पनि युनिलिभरको सेयर मूल्य प्रतिकित्ता बुधबार ३६ हजार २२१ रुपैयाँ छ ।
माघ २३ गते सय कित्ताका लागि १९ लाखहाराहारी लगानी गर्नेको सम्पत्ति अहिले दोब्बरले बढेर ३८ लाख पुगेको हो । नियमित र समयमै साधारण सभा गर्ने र लाभांश राम्रो बाँड्ने भएकाले नै युनिलिभरप्रति लगानीकर्ता आकर्षित भएका हुन् ।
कम्पनीले गत वर्षको नाफाबाट १२१५ प्रतिशत नगद लाभांश बाँडेको थियो । त्यस्तै २०७७/७८ मा ६५० प्रतिशत, ७६/७७ मा १०० प्रतिशत, ७५/७६ मा ७७० प्रतिशत र २०७४/७५ मा ७०० प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीले त्यसअघिका २ वर्ष ७३/७४ मा १२७० र ७२/७३ मा १०२० प्रतिशत नगद लाभांश सेयरधनीलाई दिएको थियो ।
सेयर बजार रातारात पैसा कमाएर धनी हुने ठाउँ होइन तर राम्रा कम्पनी चिनेर दीर्घकालका लागि लगानी गर्न सक्दा ठूलो लाभ पनि मिल्छ । युनिलिभर जस्ता कतिपय कम्पनीले त बजार ‘कोमा’मा पुगेका बेला पनि ठूलो लाभ दिइरहेका हुन्छन् ।