काठमाडौंको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँः सांसदहरु



काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति रहेको बताएका हुन् ।

उनीहरुले मुख्य सडकमा नै खोला र ढलहरु जोडिएको साना बालबालिकाहरु बगाउने समस्या सिर्जना भइरहेको बताए । साउन ७ गते काठमाडौंको रानीवनस्थित सामाखुशी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरुले फेरि यस्ता घटना हुन नदिन सचेत गराए ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरुमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् ।

‘भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरु जाम हुने, काठमाडौं अस्तव्यस्त हुन्छ । सडकमै खोला बग्ने अवस्था भएकाले यो समस्या आएको हो । मुलमुल सडकमै खोला बग्छ । त्यसको व्यवस्थापन गर्नु पर्‍यो’ उनले भनिन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौंका सडक छेउमा बहने नदीहरुमा तत्काल ढल गाढेर सुरक्षित गर्नुपर्ने बताए । काठमाडौंका यस्ता समस्याहरुको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको उनको भनाइ थियो ।

‘एक जना बालक बेपत्ता छन् । त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ । त्यसमा अहिले तत्काल ढल गाढेर अहिले तत्काल निकास दिन के गर्नुपर्छ ? र, दीर्घकालीन रुपमा समस्या समाधानका लागि तपाईहरुको कुरा के छ ? यसका लागि हामी अनुगमनमा जान पनि तयार छौं । यसको समाधानको कुरा सरकारबाट हामीले चाहेको हो’ उनले भने ।

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताइन् ।

‘पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्छ । यो अभियान चलाउनुपर्छ । बाटो भन्दा तल बनेको घरमा पानीहरु पस्ने भएकाले त्यसको समाधान गर्नुपर्छ । सडक निर्माणमा दीर्घकालीन योजना नबनेको हो की भन्ने जस्तो लाग्छ । किनभने एकछिनमै बनायो, एकछिनमै भत्कायो छ, विदेशतिर बनिसकेपछि त्यसरी फेरि फेरि भत्काउने काम गरिँदैन । हाम्रोमा धेरै भत्किने नबनिने छ, ढलको समस्या ठूलो छ, भत्काउने नबनाउने, त्यसैले काम गरिसकेपछि त्यसलाई व्यवस्थित गर्नुपर्छ’ उनले भनिन् ।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुशीको बाढीमा परी बेपत्ता भएका बालकको खोजि कार्य तिब्र बनाउनुपर्ने बताए । आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद्पूर्व तयारी गर्नुपर्ने उनले बताए । सांसद ठकुरीले काठमाडौंको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने धारणा राखे ।


क्लिकमान्डु