डोजरसहित प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध प्रदर्शन



काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरु तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

‘निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक हामी निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले गरोस् भनेर निषेधित क्षेत्रको मर्यादा राख्दै धर्ना गरेका हौँ,’ उनले भने, ‘ नेपाल सरकारले बनाएका योजनाहरु ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेको तर श्रोत नभएको त्यस्तो योजनाको लागि सरकारले एक वर्ष म्याद थप गर्दैछ, त्यसको भुक्तानीको व्यवस्थापन कसरी गर्छ ? भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्छ भनेर प्रमुख माग लिएर आएका छौँ ।’

सरकारले बनाएका योजनाहरु ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भए पनि स्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको बताए ।

सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने उनले बताए ।

सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिए ।

‘मूल्य समायोजन लगायतका ९ बुँदे माग लिएर आन्दोलन गरेका छौँ । प्रधानमन्त्रीज्युले ठोस कार्ययोजना बनाइ हाम्रा माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहन्छ । सम्झौता गरेका माग कार्यान्वयन हुनुपर्छ । सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्छ’ सिंहले भने ।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।


क्लिकमान्डु