सेफ्टी हेल्मेट लगाएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना



काठमाडौं । निर्माण व्यवसायीले प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन् ।

आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न भएका परियोजनाहरूको भुक्तानी अहिलेसम्म नपाएको बिरोधमा निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि धर्ना दिएका हुन् ।

विभिन्न माग लेखिएका प्लेकार्डसहित सेफ्टी हेल्मेट लगाएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

आर्थिक वर्ष सकिए पनि भुक्तानी हुनुपर्ने रकम अहिलेसम्म नपाउँदा कामदारहरुलाई समेत पैसा दिन सक्ने अवस्था नबनेको उनीहरुको भनाइ छ ।

व्यवसायीहरुल केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए ।

लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भिर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

सरकारले निर्माण आयोजनाहरुको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजनाहरु नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको उनको भनाइ छ ।

सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिँदा निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी समेत नपाएको बताए । उनले अर्थमन्त्रालयमा अन्य विकासे मन्त्रालयबाट १० अर्बको बजेट रकामान्तर गर्ने गएको फाइल तत्काल हेरेर रकम भुक्तानी गर्नुपर्ने बताए ।

सरकारले सार्वजनिक खरिद ऐनको १२ संशोधनबाट म्याद थप भएका आयोजनाहरु व्यवहारिक माइलस्टोनको कारण करिव ४० अर्ब रुपैयाँ बराबरको कामको बिल बनाउन नकिएको बताए।

लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्, माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर्, मूल्य समायोजन तुरून्त कार्यान्वयन गर् लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

यसअघि हिजो निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएको थियो ।


क्लिकमान्डु