मुगुको छायाँनाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मल्लसहित इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत गरी ७ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।
छायाँनाथ रारा नगरपालिका वडा नं. २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेशसिंह कठायत र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर हस्तबहादुर मल्लविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला वन कार्यालयको कम्पाउन्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई र पार्क निर्माण स्थलसमेत टुंगो नलगाई पार्क निर्माणका लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाएर उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५ सय पेश्की उपलब्ध गराएको अभियोग उनीहरुमाथि छ ।
उपभोक्ता समितिलाई भुक्तानी भएको पेश्की ३८ लाख ४७ हजार ५ सय सरकारी रकम नोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को कसुर गरेको देखिएकाले सोहीबमोजिम बिगो कायम गरी सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम निजहरुबाट बिगो असुल उपर हुनेसमेत मागदाबी गरिएको छ ।
साथै, उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलले पार्क निर्माणका लागि सम्झौता गरी पेश्की ३८ लाख ४७ हजार ५ सय रुपैयाँ बुझेकोमा उपभोक्ता समितिबाट भएको कार्यबापतको ४ लाख ६५ हजार ८२ रुपैयाँ कट्टा गरी बाँकी ३३ लाख ८२ हजार ४१७ सय फिर्ता गर्नुपर्नेमा नगरेको अख्तियारको अभियोग छ ।
सरकारलाई हानि पुर्याउने बदनियत देखिएकाले उनीहरुविरुद्ध ३३ लाख ८२ हजार ४१७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।