विदेश जानेले वर्षमा दुई पटकमात्र २५ सय डलरको सटही सुविधा पाउने



काठमाडौं । विदेश जाने नेपालीका लागि सटही सुविधालाई बढाएर २५ सय अमेरिकी डलर बनाएको राष्ट्र बैंकले त्यसमा नयाँ व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले‍ एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो सुविधा वर्षमा २ पटक दिन सकिने व्यवस्था गरेको हो ।

यसअघि १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट त्यसलाई बढाएर २५ सय अमेरिकी डलर पुर्‍याउने घोषणा गरेको थियो ।

मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरिएको एकीकृत परिपत्रमा यसरी २५ सय बनाइएको सटही सुविधा वर्षमा दुई पटकका लागि हुने व्यवस्था गरिएको हो ।

‘भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २,५००वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ’ नेपाल राष्ट्र बैंकएकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै भनिएको छ ।

एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाउँछ र यो परिपत्र जारी भएको मिति साउन १२ देखि गणना हुने उल्लेख गरिएको छ । यो परिपत्र जारी भएको हुनु अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटक अधिकतम अमेरिकी डलर २,५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर दुई सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु