भारत सरकारले निर्यातमा कडाइ गर्दा खाद्यान्न आयात २४ प्रतिशतले घट्यो



काठमाडौं । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा खाद्यान्न आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा सन् २०७९/८० मा खाद्यान्न आयातमा २३.७८ प्रतिशतले घटेको देखाउँछ ।

भारत सरकारले सन् २०२२ को मे १३ तारिखदेखि विश्वव्यापीरुपमा गहुँ निर्यातमा प्रतिबन्ध गरेको थियो । भारत सरकारले आन्तरिक उत्पादन निकै कम भएको र रुस-युक्रेनबीको युद्धका कारण आन्तरिक बजारमा उच्च मूल्य बढेकाले खाद्य सुरक्षा तथा खाद्य मूल्य नियन्त्रण गर्न प्रतिबन्ध गरेको थियो ।

भारत सरकारले नेपालसहित सबै देशमा निर्यात बन्द गरेको थियो । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध गरेसँगै नेपाली बजारमा उच्च प्रभाव परेको छ । नेपाली बजारमा आँटा तथा मैदाको मूल्य ह्वात्तै बढेको छ भने अन्य मैदाजन्य वस्तुको मूल्य पनि बढेको छ ।

बजारमा गहुँ आयातमा प्रतिबन्धले गर्दा समस्या निम्तिएसँगै नेपाल सरकारले ५० हजार मेट्रिक टन गहुँ आयात गर्न अनुमति सिफारिस गरेको थियो । उक्त सिफारिसमा भारतको वाणिज्य मन्त्रालयले नेपाललाई ५० हजार मेट्रिक टन गहुँ आयात गर्ने दिने निर्णय गरेको थियो । भारत सरकारले आयातका लागि कोटाको व्यवस्था गरेसँगै नीजि क्षेत्रका उद्योगहरुले गहुँ आयात गरेर बजार माग धान्दै आएका छन् ।

त्यस्तै, भारत सरकारले गहुँ मात्रै नभएर बासमतिबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको थियो । उक्त व्यवस्थाले चामल आयात प्रभाव परेको थियो । भारत सरकारले निर्यातमा कडाइ गरेसँगै खाद्यान्न आयातमा भने कमी आएको तथ्याङ्कले उल्लेख गर्छ ।

भारत सरकारले गहुँ आयातमा कडाइ गरेसँगै खाद्यान्न आयातको हिस्सा भने निकै घटेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा ७४ अर्ब २७ करोड ७४ लाख रुपैयाँको १ अर्ब ८८ करोड ३३ लाख केजी खाद्यान्न आयात गरेको थियो । गत आर्थिक वर्ष गहुँको आयातमा प्रतिबन्ध गर्दा ५६ अर्ब ६१ करोड ३८ लाख रुपैयाँको १ अर्ब २९ करोड ५९ लाख केजी आयात गरेको छ ।

समग्रमा तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा गहुँको आयातमा कमी आउँदा खाद्यान्न आयातमा गिरावट आएको उल्लेख छ । गत वर्ष नेपालले २ अर्ब ८९ करोड रुपैयाँको ४ करोड ६१ लाख केजी मात्रै गहुँ आयात गरेको छ । अघिल्लो वर्ष नेपालले ६ अर्ब ३२ करोड ६२ लाख रुपैयाँको १९ करोड १५ लाख ८५ हजार केजी गहुँ आयात गरेको थियो । जुन ६८.२६ प्रतिशतले कम हो ।

त्यसैगरी, नेपालले गत वर्षमा २ करोड ७६ लाख ६५ हजार रुपैयाँको ६ लाख ८८ हजार जौ, ३६ अर्ब ६६ करोड ३२ लाख रुपैयाँको चामल तथा धान र ७३ करोड २० लाख रुपैयाँको कोदो आयात गरेको छ ।

नेपालले अधिकांश खाद्यान्न भारतबाट आयात गरेको तथ्याङ्कले उल्लेख गर्छ । नेपालले गत वर्ष मात्रै भारतबाट ५५ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ ।

त्यसैगरी, अर्जेन्टिनाबाट २३ करोड ५६ लाख रुपैयाँको, चीनबाट ५ करोड २२ लाख रुपैयाँ, इन्डोनेसियाबाट ४० लाख रुपैयाँको, मलेसियाबाट ३ करोड ४५ लाख रुपैयाँको, दक्षिण अफ्रिकाबाट १० करोड ८६ लाख रुपैयाँ, ब्राजिलबाट ३ करोड ३१ लाख रुपैयाँको, अमेरिकाबाट १९ करोड ९४ लाख रुपैयाँ र भियतनामबाट ९७ लाख रुपैयाँको आयात गरेको छ ।


क्लिकमान्डु