आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- लक्ष्य प्राप्त हुनेगरी काम गर्नू



बुटवल । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा. महतको आग्रह थियो । ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन,’ मन्त्री डा. महतले भने, ‘विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’

मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजस्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ । ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजस्व कार्यालय पनि राख्नुपर्छ ।’

स्याउ, आलु र प्याजमा पनि कर लागेको र त्यो भन्सारमा मात्र लाग्ने उनले बताए । ‘भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्छ । बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन ‘ उनले भने ।

नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएकोले त्यसलाई राम्रोसँग अध्ययन गर्न मन्त्री डा. महतले आग्रह गर्दै भने, ‘हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ । पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ ।’


क्लिकमान्डु