नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले आइतबार सार्वजनिक भएको मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी गरे ।

मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो बनाउनलाई सम्बोधन गरिएको उनको भनाइ छ । अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उनले बताए ।

‘हिजोमात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलोपन ल्याउनुपर्छ भन्दै आएको थिएँ । त्यहीँ खुकुलो आएको छ,’ उनले भने, ‘ अरु पनि केही पहलहरु भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ । लगानीको वातावरण सहज बनाउँछ ।’

वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको अर्थमन्त्रीले बताए । अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबी उनको थियो । सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको उनले बताए ।

अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरे । मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने दाबी गरे ।

भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको महतले बताए ।

अर्थमन्त्री महतले यसो भने

हिजोमात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ । त्यही खुकुलो आएको छ । अरु पनि केही पहलहरु भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ । लगानीको वातावरण सहज बनाउँछ । वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने । जस्तो अहिले मूल्यवृद्धि समग्रमा घटेको छ । कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ । विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा हामी अघि बढेका छौँ । त्यही अनुसार सरकार र काँग्रेस पार्टी पनि बलियो बनाउने, एकतावद्ध भएर अघि बढ्ने, बाहिर एउटा, भित्र एउटा नभइ एउटै कुरामा जोड दिने हो । हामी व्यक्तिका नभइ पार्टीका कुरा गर्ने हो, पार्टीले देशका र जनताका कुरा गर्ने हो ।

जसलाई जे मन लाग्यो त्यो भन्न पाउने, त्यहाँमाथि सामाजिक सञ्जालमा भाइरल भइहाल्छ । मैले बजेट बनाउँदादेखि नै मैले यस्तो भिजमा कल्पना पनि गर्न सक्दिन । मैले बजेटमा नै प्रश्ताव गरेको हो की यो भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ । कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन कटिवद्ध छ । त्यही अनुसार काम भइरहेको छ । छानबिनका लागि अुनसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरुमा उदासिनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भइ कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।


क्लिकमान्डु