कास्कीमा १३ मेगावाट क्षमताको अप्पर सेती–१ जलविद्युत आयोजना बन्दै



काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लामा १३ मेगावाट क्षमताको अप्पर सेती–१ जलविद्युत आयोजना बन्ने भएको छ ।

विद्युत विकास विभागकाअनुसार कास्कीको पोखरा महानगरपालिका तथा माछापुच्छ्रे गाउँपालिकामा अप्पर सेती–१ जलविद्यूत आयोजनाबाट विद्युत उत्पादनको अनुमति पत्रका लागि दरखास्त परेको हो ।

श्रेष्ठ इनर्जी सोलुसन प्रा.लिले यो आयोजनाबाट विद्युत उत्पादनका लागि अनुमति मागेको छ ।

आयोजना नदी प्रबाहमा आधारित प्रकारको बन्नेछ । सेती नदीमा आधारित रहेको आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिगावाट घण्टा विद्यूतीय उर्जा उत्पादन हुनेछ ।

आयोजनाको बााध माछापुच्छ्रे गाउँपालिकाको सिमानामा रहेको भालाबोट गाउँ नजिकै सेती नदीमा र विद्युत गृह पोखरा महानगरपालिका वडा नम्बर १९ मा रहेको घट्टेखोला सँगैको दोभानभन्दा माथिल्लो पट्टि सेती नदीको बायाँ किनारमा रहने विभागले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्यूतलाई आयोजनाको विद्यूत गृहबाट ३३ केभीको प्रसारण लाइन हुँदै करिब ३.५ किमी टाढा रहेको नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०८२ बाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।


क्लिकमान्डु