महानगरले तोक्यो काठमाडौंमा सवारीसाधनको पार्किङ शुल्क, अब केलाई कति लाग्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् ।

उनले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारे । जसअनुसार काठमाडौं महानगरपालिकाभित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँमात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताइन् ।

उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

उनले भनिन्, ‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति । कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ । कतै ५ सय छ । फरक, फरक भयो । यो हुँदाखेरी चाँही सेवाग्राही पनि अन्यौलमा । र, सँगसँगै सेवा दिनु हुनेहरुलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ । जसले पार्किङ गर्नु हुन्छ । जसले गर्दा हरेक ठाउँमा एकरुपता आओस् । पार्किङ शुल्कमा एकरुपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ । २ पांग्रे सवारी साधनको लागि आधा घण्टा मात्र पार्किङ गर्नु हुन्छ भने १५ रुपैयाँ र सँगसँग एक घण्टा हो भने २५ रुपैयाँ । र, एकघण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटको ५/५ रुपैयाँको दरले हामीले शुल्क पनि तोकेका छौं । त्यसैगरी चार पाङग्रे गाडीको लागि चाँही आधा घण्टाको लागि ४० रुपैयाँ एक घण्टासम्म पार्किङ गर्नु भयो भने ७५ रुपैयाँ । त्यसपछि पनि थप हुँदै गयो भने हरेक १५ मिनेटको १५ रुपैयाँ थप हुँदै जाने भनेर हामीले शुल्क तय गरेका छौं ।’


क्लिकमान्डु