प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुभारम्भ, कति पुग्यो चुक्ता पुँजी



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ भएको छ ।

नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले आज एक संक्षिप्त समारोहका बीच नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकीकृत कारोबारको शुभारम्भ गरे ।

नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५०० करोड पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच मर्जरको लागि सम्झौता भएको थियो।

२०८० जेष्ठ २६ गते साधारण सभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गरेका थिए ।

प्रभु महालक्ष्मी लाइफको नवगठित संचालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए ।

कार्यक्रममा संचालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवि र युवा टिम पाएको कम्पनीले भविश्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्षता गरिरहेका संचालक उमेशलाल श्रेष्ठले बीमा बजार झन झन प्रतिस्प्रधि हुँदै गइरहेको छ । मर्जर पछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशिल बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको छ । बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरे ।

नयाँ चुक्ता पुँजी ४२९.६ करोड,कर्मचारी ४४२ र कायम शाखा उपशाखा ११५ हुनेछ ।


क्लिकमान्डु