उद्धारमा गएका अल्टिच्युड एयरका क्याप्टेन भन्छन्: मौसम खराब भएकाले केही तलै ल्याण्ड गरेका छौं



काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याउने तयारी गरिए पनि उद्धारमा कठिनाइ भएको छ ।

मंगलबार बिहान हेलिकप्टर दुर्घटनामा परेपछि उद्धारको लागि परिचालन गरिएका अल्टिच्युड एयरका २ वटा हेलिकप्टर खराब मौसममा कारण घटनास्थलमा अवतरण गर्न कठिनाइ भएपछि घटनास्थल भन्दा केही पर अवतरण गरिएको छ ।

उद्धारमा गएका अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले आफूहरु दुर्घटनास्थल भन्दा केही तल रहेको जानकारी दिए ।

‘अहिले हेलिकप्टर ल्याण्ड भएको स्थानबाट ३ मिनेटको उडानमा दुर्घटनास्थलमा पुग्न सकिन्छ’ उनले भने, ‘ मौसम खराब भएका कारण हामी कुरिरहेका छौं ।’

हेलिकप्टर जान नसके शवहरु गाडीमा तलसम्म ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थलबाट हेलिकप्टर ल्याण्ड भएको स्थानसम्म गाडीमा ल्याउन १ डेढ घण्टा लाग्न सक्ने उनले बताए ।

दुर्घटनास्थल सडक नजिक रहेको जानकारी आफूले पाएको कप्तान खड्काले बताए । प्रमुख जिल्ला अधिकारीले शवहरु सडकमार्गबाट हेलिकप्टर ल्याण्ड भएको स्थानसम्म ल्याउने व्यवस्था मिलाउन खोजिरहेको उनको बताए ।

आफूहरुले हेलिकप्टर ल्याण्ड गरेको स्थानबाट दुर्घटनास्थल पुग्न ३/४ घण्टा भन्दा बढी समय लाग्ने स्थानीयले बताएको उनको भनाइ छ ।

बिहान मौसम खराब भएपछि मनाङका क्याप्टेन सीबी गुरुङले ल्याण्ड गर्न खोजेको हुन सक्ने नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिक बताउँछन् । ‘बाक्लो बादल र कुहिरोका कारण हेलीलाई तल जमिनमा ल्याउन खोजेको देखिन्छ’, उनले भने, ‘तर त्यसअघि नै रुखमा ठोकिँदा समस्या भएको देखिन्छ ।’

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ मा दुर्घटनामा परेको थियो ।

१० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिमा पाँच विदेशी यात्रुसहित ६ जना सवार थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।


क्लिकमान्डु