१६ वर्षीया नाबालिग बलात्कार घटनामा कसरी जोडियो एलओडी ?
काठमाडौं । १६ वर्षीया नाबालिगको बलात्कार भएको घटनामा लर्ड अफ ड्रिंक्स (एलओडी)क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एलओडीका दुई सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।
गत जेठ ३१ गते ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको घटनामा एलओडीका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । बलात्कार आरोपी ५० वर्षीय सुदन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका कोइरालाले नाबालिगलाई एलओडी क्लबमा भेटेका थिए । एसईई परीक्षा दिएर बसेकी उनी एक जना साथीसँग एलओडी पुगेकी थिइन् । त्यहाँ नाबालिगको कोइरालासँग भेट भएको थियो ।
नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै प्रहरीले सञ्चालकहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
क्लब जाँदैमा किन जारी भयो पक्राउ पुर्जी ?
ठमेलमा रहेको क्लब गएको तर ललितपुरमा बलात्कार भएको घटनामा किन सञ्चालक पक्राउ परे भन्दै सर्वसाधारणले प्रश्न गरिरहेका छन् । प्रहरीले एलओडी सञ्चालकले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा १ (ख) कसुर गरेको दाबी गरेको छ ।
उक्त ऐनमा ‘बालिगहरुकालागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरन्जनस्थलमा प्रवेश वा प्रयोग गराउने’ कार्यलाई बालबालिका विरुद्धको कसुर मानिने उल्लेख छ ।
यस्तो कसुर गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने उक्त ऐनमा व्यवस्था छ ।