भारतले प्रधानमन्त्री बनाएको हो भनेकै कारण राजीनामा दिनुपर्दैनः सत्ता गठबन्धन



काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिका कारण पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनै बेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको जानकारी दिए ।

बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न संघबाट निर्देशन दिइएको पनि बताए ।

‘प्रधानमन्त्रीका बिरुद्ध उहाँले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्यो भन्ने किसिमका कुरालाई लिएर संसदमा अवराध गरेको, अवरोध मात्रै होइन, सम्माननीय प्रधानमन्त्रीको त राजीनामा नै माग्ने निर्णय संसदीय दलको निर्णयबाट गरेको भन्ने कुरा आयो, प्रमुख प्रतिपक्ष दलले, एउटा त उहाँहरुले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरालाई कसैलाई आपत्ति भयो भने संसदमा आवाज उठाउन पाइन्छ । र उहाँहरुले भन्नुपर्छ, प्रधानमन्त्रीज्यु तपाईले के बोलेको हो । हामी सांसदले प्रधानमन्त्री बनाउने हो, नेपालको संसदले प्रधानमन्त्री बनाउने हो की तपाईलाई भारत, चीन कसले बनाइदिने हो भनेर सोध्नुपर्ने हो । तर उहाँहरुले हतारमा प्रधानमन्त्रीको पनि कुरै नसुनिकन कुन सन्दर्भमा के कुरा गर्नुभएको थियो भन्नेकुरा नसुनी राजीनामा माग गर्ने निर्णय भएको छ, हामी गठबन्धन दलका सबै बसेर छलफल गरेर राजीनामा दिनु नपर्ने निर्णय गरेका छौँ । र संसद फेस गर्ने निर्णय गरेका छौँ ’ उनले भने ।


क्लिकमान्डु