प्रिमियम मूल्यमा आइएमई लाईफको आईपीओ निष्कासन, प्रतिकित्ता कति ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि असार १ गतेदेखि सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँको आईपीओ ल्याएको हो । जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । यस्तै ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, ६ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।

आईपीओमा असार २५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु