सञ्चालकलाई ढाँटेर सुमेरु सहकारीका अध्यक्ष बेलायत भागेको खुलासा, बचतकर्ताको ९ अर्ब जोखिममा



काठमाडौं । ललितपुरमा मुख्य कार्यालय रहेको सुमेरु सहकारी तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन सञ्चालक समितिलाई ढाटेर बेलायत पुगेको खुलासा भएको छ ।

सहकारीका बचतकर्ताले १ महिनामा २ अर्ब रुपैयाँ पैसा निकाल्दा सहकारी संकटतर्फ गएको बेला पारेर महर्जन विशेष काम छ भन्दै बेलायत गएका थिए । बेलायत गएपछि महर्जनले आफूलाई सन्चो छैन भन्दै आउन खोजेनन् । सुमेरु ग्रुपका कम्पनी सचिव विनोद आचार्यले त्यसपछि आफूहरुले उनको नाममा भएको सम्पत्तिको वारेसनामा पठाइदिन आग्रह गरेको बताए ।

सहकारीका अध्यक्ष सम्पर्कमा रहेको आचार्यको भनाइ छ ।

‘धेरै कुरा हामीलाई पनि थाहा थिएन । सञ्चालक भइयो । सबै कुरा थाहा थिएन । उहाँ बेलायत गएपछि पनि हामीले तपाईं आउनु पर्छ भन्यौं । उहाँले सन्चो छैन भन्नुभयो । हामीले १ महिना, २ महिना, ३ महिना पर्खियौं । आउने लक्षण देखिएन । त्यसपछि हामीले तपाईं नआउने हो भने सुमेरुबाट सिर्जित, सहकारीको पैसाबाट सिर्जित तपाईंको नाममा, तपाईंको परिवारको नाममा भएको सम्पत्तिको वारेसनामा पठाईदिनु भन्यौं । लगभग २ अर्ब जति छ । तपाईंले वारेसनामा पठाएपछि त्यो सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गर्छौ भनेर भन्यौं’ उनले भने ।

कम्पनी सचिव विनोद आचार्यले सुमेरु बचत तथा ऋण सहकारी संस्थामा गत आर्थिक वर्षको असारसम्म प्रसस्त तरलता रहे पनि त्यस समय सहकारी विभागले अनुगमन गर्दा सहकारीले चाहिनेभन्दा बढी तरलता राखेको भन्दै तुरुन्त लगानी गर्न भनेको दाबी गरे ।

असारसम्म सुमेरुमा ३ अर्ब रुपैयाँ तरलता रहेको उनको दाबी छ ।

‘सहकारी विभागले अनुगमन गर्दा चाहिनेभन्दा बढी तरलता राखेकोले तुरुन्त लगानी गर्नुहोस् होन भने नियम अनुसार कारबाही हुन्छ भनेपछि हामीले १ अर्ब तत्काल लगानी गर्‍यौं’ सुमेरु ग्रुपका कम्पनी सचिव आचार्यले भने, ‘त्यसपछि धेरै सहकारीमा समस्या आएपछि हाम्रो सहकारीमा पनि पैसा राख्नेले धमाधम निकाल्न थाले ।’

बचतकर्ताले १ महिनामा २ अर्ब रुपैयाँ पैसा निकाल्दा समस्या भएको उनले बताए ।

‘दशै सकियो । चुनाव भयो । चुनावसम्म पनि १ अर्ब पैसा हामीसँग थियो । चुनावपछि बजारमा पैसा आउँछ भने तर आएन । त्यसपछि हामी पनि समस्या परेका छौं’ उनले भने ।

सहकारीको समस्या समाधानका लागि आफूहरुले सुमेरुको सञ्चालक समिति र सुमेरु समस्या समाधान समितिको सामूहिक समिति गठन गरेको उनले जानकारी दिए ।

‘त्यो समितिले मिहिन ढंगले सुमेरुको सम्पत्तिको भ्यालुएसन गरेर अन्तिम रिपोर्ट आएको छ । सुमेरुको लगभग १५ अर्ब सम्पत्ति छ । निक्षेप घटेर ८ अर्ब रहेको छ’ उनले भने ।

अहिले बचतकर्तालाई पैसा दिन नसकिएको भए पनि आफूहरुको प्राथमिकता साउन दोस्रो सातादेखि कति ब्याज दिन सकिन्छ त्यति दिँदै जाने रहेको उनको दाबी छ ।

विस्तारै बचत कसरी व्यवस्थित गर्न सकिन्छ भनेर काम गरिरहेको बताउँदै उनले ढिलोचाडो सुमेरुका बचतकर्तालाई कुनै पनि जोखिममा पर्न नदिई बचतको व्यवस्थापन गर्ने उनको भनाइ छ ।

‘सुमेरुको लगानीमा ८० प्रतिशत कम्पनीको नाममा छ । त्यो कम्पनीको सञ्चालक हामी छौं । त्यो सम्पत्ति बिक्री गर्ने अधिकार हामीलाई छ । सहकारीमा भएको पैसा अन्यत्र लगानी गर्नु गैह्र कानूनी काम हो ।’

सर्वसाधारणको साढे ८ देखि ९ अर्ब बचत फिर्ता गर्न बाँकी रहेको उनले बताए ।


क्लिकमान्डु