बीमा कम्पनीका ४६८ शाखा बन्द, ६५२ कर्मचारीले जागिर गुमाए



काठमाडौं । बीमा कम्पनीहरु मर्जरमा जाँदा कम्पनीका काम गर्ने कर्मचारी बेरोजगार बन्न थालेका छन् भने शाखा संख्या पनि घट्न थालेका छन् ।

बिमा प्राधिकरणका अनुसार बिमा कम्पनीहरु मर्जरमा जाँदा एक वर्षको अवधिमा ६५२ जना कर्मचारीले जागिर गुमाएका छन् । त्यस्तै विभिन्न कम्पनीका ४६८ वटा शाखा पनि बन्द भएका छन् ।

प्राधिकरणका अनुसार २०७९ जेठ मसान्तसम्म बीमा कम्पनीमा ११ हजार ८५१ जना कर्मचारी रहेका थिए । कम्पनीहरु धमाधम मर्जरमा जान थाले पनि कर्मचारीको संख्या ५.५० प्रतिशतले घटेर जेठ मसान्तसम्म ११ हजार १९९ जना रहेका छन् । यस्तै बीमा कम्पनीहरुको शाखा संख्या पनि ३ हजार ३५५ बाट १३।९५ प्रतिशतले २ हजार ८८७ रहेको छ ।

गत वर्ष निर्जीबन बीमा कम्पनी २० वटा, जीवन बीमा कम्पनी १९ वटा, पुनर्बीमा कम्पनी २ वटा रहेका थिए । अहिले मर्जरका कारण निर्जीवन बिमा कम्पनी १४, जीवन बिमा कम्पनी १५, पुनर्बीमा कम्पनी २ वटा रहेका छन् ।

प्राधिकरणले बिमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको थियो । कम्पनीहरुले पुँजी बढाउन अन्य विकल्प प्रयाप्त नभएपछि मर्जरको बाटो रोजेका छन् ।

मर्जरमा जाँदा कार्यालय शाखा घट्नुका साथै कर्मचारीहरु समेत बेरोगार बनेका छन् । कतिपयले स्वैच्छिक अवकाश पनि लिएका छन् ।

२०७९ जेठ मसान्तको तुलनामा २०८० जेठ मसान्तमा बिमा व्यवसाय केही फस्टाएको छ । गत जेठमा जीवन बीमालेख संख्या (म्यादी, लघु र वैदेशिक रोजगार जीवन बिमा बाहेक) ७.५८ प्रतिशतले बढेर ५५ लाख २९ हजार ८९ जारी भएको छ ।

यस्तै म्यादी र लघु म्यादी जीवन बिमालेख संख्या ५.१५ प्रतिशतले बढेर ६९ लाख ५७ हजार १०२, वैदेशिक रोजगार बिमालेख संख्या ८०।६८ प्रतिशतले बढेर १५ लाख ८३ हजार ७४६ पुगेको छ ।

कुल जीवन बिमालेख पनि ११.३८ प्रतिशतले बढेर १ करोड ४० लाख ६९ हजार ९३७, निर्जीबन बीमालेख ८.०६ प्रतिशतले बढेर २५ लाख ३७ हजार ४१६ पुगेको छ । यस्तै गत जेठको तुलनामा यो जेठमा बीमाशुल्क संकलन पनि ४.६२ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु