ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएपछि बाबुराम भट्टराईले भने: मेरो र निकटहरुको कुनै स्वार्थ जोडिएको छैन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो वा आफू निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गरेका छन् ।
भट्टराई प्रधानमन्त्री रहेको बेला समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीलाई दिने निर्णय भएको थियो । उक्त निर्णयपछि पनि जग्गा व्यक्तिले हडपेको दाबी प्रहरीको छ ।
यसबारे बारम्बार प्रश्न आएको भन्दै डा भट्टराईले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिएका छन् ।
यसो भन्छन् डा भट्टराई
ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ।
मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुँदैन! मपका निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन्! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ।
ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ। मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु।
तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन!
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।
बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!