माल्टा पठाइदिन्छु भन्दै ६ लाख ३० हजार ठगी गर्ने प्रहरीको फन्दामा



काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ६ लाख ३० हजार रुपैयाँ लिएर बेपत्ता भएका युवराज लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा घर भई हाल काठमाडौँको टोखा बस्दै आएका लिम्बू भुवन भट्टराईलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनेर आधाजति रकम मागेर बेपत्ता भएका थिए ।

माल्टाका लागि १२ लाख रुपैयाँ लाग्ने र त्यहाँ पानीजहाजमा काम लगाइदिने उनले प्रलोभन उनले दिलाएका थिए । मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनेर पहिलो चरणमा ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए ।

वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा लिम्बूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका लिम्बूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु