वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई निगरानी गर्न राजस्व विभागको निर्देशन



काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिसँग कानुन अनुसार कर लिन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

अग्रिम कर कट्टी गरेका तर आय विवरण पेस नगर्ने करदाताको पहिचान गरि कानुन अनुसार कर लगाउन विभागले मातहतका कार्यालयहरुलाई सर्कुलर जारी गरेको हो ।

विभागको आईटीएस प्रणालीबाट वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी कमाएका व्यक्ति पहिचान गरी अग्रिम बुझाएको कर कटौती गरि बाँकी हुने कर असूल गर्न विभागले निर्देशन दिएको हो । विभागले आईटीएस प्रणालीमा सुधार गर्दै स्थायी लेखा नम्बर(प्यान) का आधारमा ४० लाख रुपैयाँ भन्दा बढी कमाउने व्यक्तिको विवरण हेर्न सक्ने व्यवस्था गरेको छ ।

‘ कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँ भन्दा बढीको आय भएकोमा अग्रीम कर न्यून कट्टी गरेको देखिन्छ’ विभागले कार्यालयहरुलाई जारी गरेको सर्कुलरमा भनिएको छ, ‘अतः कार्यालयहरुबाट टीडीएस परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरी नियमानुसार टीडीएस रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको लगायतका टीडीएस सम्बन्धी हेर्नुपर्ने सबै विषयको चेक जाँच, परीक्षण सम्बन्धि सम्पूर्ण कार्य गरी सोको प्रगती ईआईएमएसमा प्रविष्ट गर्नुहुन आदेशानुसार अनुरोध छ ।’


क्लिकमान्डु