तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा कुनै परिवर्तन भएको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साविकमा तोरी, भटमास र सनफ्लावरको दाना तथा क्रुड आयालमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको बताए ।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आर्थिक ऐन २०७९ ले तोरी, भटमास र सनफ्लावरको दानामा ५ प्रतिशत र क्रुड आयलमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेकोमा आर्थिक ऐन २०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषदको २०७९ भदौ २३ गतेको बैठकले तोरी, भटमास र सनफ्लावरको दाना र क्रुड आयल आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने गरी पटके निर्णय गरेको र यस्ता पटके छुटलाई नयाँ आर्थिक ऐनले सम्बोधन नगरेमा स्वत: खारेज हुने बताए ।
सरकारको कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको फरक दर निर्धारण गर्ने नीति रहेको र सोहि नीति अनुरुप दानामा ५ प्रतिशत, क्रुड आयलमा १० प्रतिशत र तयारी तेलमा १५ प्रतिशतको फरक भन्सार दर लाग्ने व्यवस्था रहेको डा. महतको भनाइ छ ।
निकासी गर्ने प्रयोजनले आयात गर्ने वस्तुमा लाग्ने महसुलबापत बैंक जमानत राखी आयात गर्न सक्ने व्यवस्था रहेकाले चालू आर्थिक वर्षको वैशाखसम्म करिब २१ अर्ब मूल्यबराबरको क्रुड आयल प्रस्तुत सुविधा उपभोग गरी आयात भएको उनले बताए ।
सरकारले आर्थिक वर्षको बीचमा प्रस्तुत वस्तुमा लाग्ने महसुलमा ९० प्रतिशत छुट दिएका कारण वैशाखसम्म करिब ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व छुट हुन गएको पनि उनले जानकारी दिए ।