करका दर हेरफेरमा कुनै घुसपैठ भएको छैन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैठ नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले इमान्दारपूर्वक काम गर्छौं भनेर बसेका मान्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न नमिल्ने बताए ।

‘बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन’ महतले भने ‘बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।’

आर्थिक विधेयक टाइप गर्ने प्रयोजनका लागि मात्र भन्सारका करार कर्मचारी रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको महले दाबी गरे । ‘रामकृष्ण श्रेष्ठ जी २० औं वर्ष देखि यही काम गर्दै आएको, इमान्दार दक्ष, अनुभवी कर्मचारी हुनुहुँदो रहेछ,’ मन्त्री महतले भने, ‘आधिकारिक व्यक्तिमा आधारित भएर निर्णय भएका दरहरु उनीहरुकै आदेशमा श्रेष्ठले टाइप गरेका मात्र हुन् ।’ आफूभन्दा अघिका अर्थमन्त्रीहरुले पनि उनलाई नै प्रयोग गर्दै आएकाले आफूले पनि सोही कुरा मानेको उनले बताए ।

बिचौलियालाई आफूले छेउछाउ पनि आउन नदिएको उनले बताए । ‘चलखेल भयो कि बिचौलियाको कुरा आएको छ । बिचौलियालाई मैले छेउछाउमा पनि आउन दिएको छैन,’ महतले भने ।

महतले विद्युतीय सवारीमा राज्यले छुट दिने र डिलरवालाले धेरै मार्जिन राख्ने गरेको बताए । छुट दिए पनि त्यसको लाभ ग्राहकले नपाउने अवस्था रहेको उनको भनाइ छ ।

‘हामी छुट दिने त्यसको लाभ ग्राहकले नपाउने विद्यमान अवस्था छ’ उनले भने ‘इभिमा डिलरवालाले धेरै मार्जिन राखेकाका छन् । राज्यले दिएको छुट गाडी प्रयोगकर्ताले पाउनु पर्ने थियो । त्यसलाई हामीले हेर्नु पर्ने भएको छ ।’

हरेक बर्ष बजेट आउने बेला व्यापारीहरुले, आयातकर्ताहरुले बजेटमा के आउने हो भनेर अनुमानको भरमा गाडी ल्याउने गरेको उनको दाबी छ । त्यसलाई सूचना चुहावट भयो भनेर भन्न नमिल्ने महतले तर्क गरे ।

‘बजेटमा कर बढ्न सक्छ भन्ने अनुमानमा कसले कुन बेला अडर गर्यो’ उनले भने ‘ त्यसको जिम्मेवारी म लिन सक्दिन ।’


क्लिकमान्डु