३४२ विद्यालयले बुझाएनन् काठमाडौं महानगरलाई छात्रवृत्ति विवरण, जेठ २८ सम्म नबुझाए कारबाहीको चेतावनी



काठमाडौं । काठमाडौं महानगरले महानगरभित्र यो शैक्षिक सत्रमा विद्यार्थीहरुलाई उपलब्ध गराउने छात्रबृत्तिको विवरण नबुझाउने ३४२ विद्यालयको नाम प्रकाशित गरेको छ ।

महानगरले गत जेठ १० गते सूचना प्रकाशित गर्दै जेठ १५ गतेभित्रमा महानगरभित्र रहेका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरुलाई उपलब्ध गराउने छात्रृबृत्तिको विवरण बुझाउन निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नगरि विवरण नबुझाउने ३४२ संस्थागत विद्यालयहरुको नाम महानगरले मंगलबार प्रकाशित गरेको छ ।

महानगरेको शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ र ५९ तथा महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उल्लंघन गर्दै यी विद्यालयहरुले हालसम्म पनि छात्रबृत्तिको विवरण महानगरलाई पेस नगरेका हुन् ।

महानगरले विद्यालयहरुको नाम प्रकाशित गर्दै जेठ २८ गतेसम्म छात्रबृत्तिको विवरण पेस गर्न ताकेता गरेको छ । सो मितिसम्म पनि विवरण पेश नगर्ने विद्यालयहरुको हकमा महानगरले काठमाडौं शिक्षा ऐन, २०७५ का दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ते र कानुन अनुसार कारबाही गर्ने पनि चेतावनी दिएको छ ।


क्लिकमान्डु