नेपाल र नेपालीको हितमा भ्रमण केन्द्रित: प्रधानमन्त्री



नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गरे ।

नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैंमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गरे । भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत उनले आग्रह गरे ।

नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील रहेको बताए ।

प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गरे ।

कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उहाँले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पारे ।

जनतालाई सेवासुविधा प्रदान गर्दै अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार अग्रसर भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसको परिणाम छिट्टै देखिने बताए ।

सेवा प्रवाहलाई थप सरल र जनपक्षीय बनाउन सरकार लागिपरेको जानकारी दिँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको र शून्य सहनशीलताको नीति अख्तियार गरेको उनले बताए ।

स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनपछि नेपालको लोकतान्त्रिक प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार त्यसको अधिकतम विस्तारमा लागिपरेको उनले बताए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल हिजो अपराह्न भारतको राजधानी नयाँदिल्ली आइपुगेका हुन् ।
प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

हिजै साँझ प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए । साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए ।


क्लिकमान्डु