बालेनको प्रश्न- वडाध्यक्ष बन्न रहर भए सांसद किन बन्नुहुन्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बाले)ले सांसद विकास कोष ब्युँतिएसँगै सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका छन् ।

सोमबार प्रस्तुत भएको आगामी आव २०८०/८१ को बजेटमा सरकारले पूर्वाधार क्षेत्र विकासका नाममा सांसदले मनमौजी खर्च गर्न मिल्नेगरी सांसद विकास कोष ब्युँताएसँगै बालेनले सामाजिक सञ्जालमार्फ यस्तो टिप्पणी गरेका हुन् ।

बालेनले सांसद विकास कोषका नाममा जनही ५ करोड पाएपछि सांसदहरु वडा अध्यक्षको लेबलमा आएको र वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद हुने भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु ।’

सोमबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सांसद विकास कोषलाई ब्युँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा हरेक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रुपमा निर्वाचित सांसदले ५ करोड रुपैयाँ खर्च गर्न पाउने घोषणा गरेका छन् ।


क्लिकमान्डु