कर तिरेर २०० ग्रामसम्म सुनका गहना ल्याउन मिल्ने, विवाहका लागि भारतबाट आउनेलाई सुन ल्याउन छुट



काठमाडौं । सरकारले विदेशबाट सुन ल्याउन मिल्ने व्यवस्था हेरफेर गरेको छ । सरकारले परिवर्तन गरेको नीतिअनुसार पुरुषले अब २५ ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् । महिलालाई भने ५० ग्रामसम्मको सुनका गहना ल्याउन दिने नीति लिइएको छ ।

विगतमा ५० ग्राम सुन कर नतिरी र थप ५० ग्राम कर तिरेर ल्याउन मिल्ने व्यवस्था थियो । सरकारले यो व्यवस्था संशोधन गर्दै महिलालाई ५० ग्राम कर छुटमा र थप १५० ग्राम कर तिरेर तथा पुरुषलाई २५ ग्राम कर छुटमा र थप १७५ ग्राम कर तिरेर ल्याउन मिल्ने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा पहिलो पचास ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुल र पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत भन्सार लाग्ने छ।

पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन ।

एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर‍अनुसार महसुल लाग्ने र त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ ।

तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रुपमा मान्यता नदिइने आर्थिक ऐनमा उल्लेख छ ।

युवाले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्यांकन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउने ऐनमा उल्लेख छ ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखि ल्याउन दिइनेछ ।

त्यसरी ल्याएको गहना निज यात्रु फर्कंदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ ।

त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ बमोजिमको कारबाही हुनेछ ।

तर, भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफू फर्कंदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ ।


क्लिकमान्डु