आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज संसद्को संयुक्त बैठकबाट सार्वजनिक गर्दै छ ।

गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री रहेका रहेका डा प्रकाशशरण महतले पहिलो पटक बजेट पेस गर्दै छन् ।

अर्थमन्त्री महतले योजना आयोगले दिएको सीमाभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।

बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीका अनुसार आगामी आर्थिक वर्षको बजेट योजना आयोगले निर्धारण गरेको सीमा १६ खर्ब ८८ अर्ब रुपैयाँ वरिपरि रहने छ ।

आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता बढाउने, समाजिक सुरक्षा भत्ता बढाउने जस्ता प्रचारमुखी कार्यक्रमहरु समेटिएका छैनन् ।

बजेटले स्वास्थ्य बीमा सम्बन्धी नीतिलाई हेरफेर गर्दै देशभर विस्तार गर्ने योजना बनाएको छ ।

कृषि क्षेत्रमा दिँदै आएको सहुलियतपूर्ण कर्जा र कृषि अनुदानलाई थप व्यवस्थित गर्ने र उत्पादनका आधारमा दिने घोषणा बजेटमार्फत् हुन लागेको छ ।

राजनीतिक फाइदाका लागि समाजिक सुरक्षा भत्ता बढाउने बिकृतिलाई रोक्न समाजिक सुरक्षाभत्ता कसरी बढाउने भन्ने विषयमा कानूनी व्यवस्था गर्ने घोषणा बजेटमा गरिन लागेको छ ।

यस्तै, डिल्लीराज खनाल आयोगले दिएका सुझावअनुसार कयौं संस्था खारेज गर्ने मन्त्री महतको तयारी छ ।

मन्त्री परिवर्तन भए लगत्तै करका दर हेरफेर हुँदै नीतिगत अस्थीरता हुने अवस्थालाई अन्त्य गर्न करका दरहेरफेर सम्बन्धी मापदण्ड बनाउने तयारी गरिएको छ ।

बजेटमार्फत् मदिरामा सस्तो मूल्यको मदिरामा करदर यथावत राख्ने र सुर्ती र चुरोटमा करका दर बढाउने तयारी गरिएको छ।
आईटी कम्पनीलाई विदेशमा शाखा खोल्दा लचिलो नीति बनाउने, रेमिट्यान्स आप्रवाह बढाउने सहुलियत दिने, ब्लेन्डेड फाइनान्स प्रयोग गर्ने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने र पुँजीगत खर्च बढाउन सम्बन्धीत मन्त्रालयलाई थप जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्था गर्न लागिएको छ ।

पुँजीगत खर्च बढाउन २ वर्षसम्म परियोजना प्रमुखलाई सरुवा नगर्ने र पूर्वतयारी नभएका आयोजनालाई ठेक्का प्रक्रियामा नलग्ने घोषणा बजेटमार्फत् गरिन लागेको छ ।

गत वर्ष बजेटमा १५ प्रतिशत चालू खर्च कटौती गर्ने घोषणा गरिएको पनि कार्यान्वयन भएकाले यो वर्ष चालू खर्च कटौती सम्बन्धमा अनावश्यक संरचना कटौती गर्ने बाहेकका घोषणा हुने सम्भावना छैन ।


क्लिकमान्डु