आर्थिक सर्वेक्षण २०७९/८०: लगानी घट्यो, आर्थिक गतिविधि सुस्तायो (पूर्णपाठ)



काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कुल लगानी गत वर्षको तुलनामा ५ प्रतिशतले घटेर १७ खर्ब ५४ अर्ब १६ करोड रहने अनुमान रहेको छ ।

पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनको ४१.४ प्रतिशतसम्म पुगेको कुल लगानी चालु आर्थिक वर्षमा ३२.६ प्रतिशतमा सीमित हुने अनुमान रहेको छ ।

ब्याजदरमा भएको वृद्धिका कारण कर्जा प्रवाहमा आएको कमी र उच्च मूल्यवृद्धिले आर्थिक गतिविधिमा सुस्तता आई कुल लगानीमा समेत कमी आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २५.९ प्रतिशतले घटेको कुल लगानी त्यसपछिका दुई वर्षमा बढेको भएता पनि पुनः घट्ने अनुमान रहेको सरकारले सार्वजनिक गरको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल स्थिर लगानी गत आर्थिक वर्षको तुलनामा ३.४ प्रतिशतले घट्ने अनुमान रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको २८.५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ३.३ प्रतिशत बिन्दुले घटेर २५.२ प्रतिशत हुने अनुमान छ ।

विगत १० वर्षमा कुल लगानी र कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको औसत क्रमशः ३४.४ प्रतिशत र २९.२ प्रतिशत छ ।

कुल स्थिर लगानीमा सरकारी र निजी क्षेत्रको अंश बढ्दै गएको छ भने सार्वजनिक संस्थानको अंश घट्दै गएको छ ।

चालु आर्थिक वर्षमा कुल स्थिर लगानी १३ खर्ब ५६ अर्ब ४६ करोड रहने अनुमान छ । कुल स्थिर लगानीमध्ये सरकारी, निजी र सार्वजनिक संस्थानको लगानी क्रमशः २०.८ प्रतिशत, ७६.९ प्रतिशत र २.४ प्रतिशत रहने अनुमान छ ।

गत आर्थिक वर्षमा यस्तो अंश क्रमशः २१.१ प्रतिशत, ७४.२ प्रतिशत र ४.८ प्रतिशत थियो । पछिल्लो दश वर्षको कुल स्थिर लगानीमा निजी क्षेत्र, सरकारी क्षेत्र र सार्वजनिक संस्थानको अंश औसत ७२.२ प्रतिशत, १९.४ प्रतिशत र ८.४ प्रतिशत छ ।


क्लिकमान्डु