प्रधानमन्त्रीको भारत भ्रमणः मुख्य एजेण्डा बिजुली बेच्ने



काठमाडौं । नेपालमा उत्पादित बिजुली बेच्ने मुख्य एजेण्डा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ गतेदेखि आफ्नो पहिलो विदेश भ्रमण भरतबाट सुरु गर्दैछन् । ४ दिने भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित आधा दर्जन सम्झौता गर्ने तयारी छ ।

त्यसका लागि तयारी लगभग पूरा भइसकेको छ । नेपाल सरकारका तर्फबाट भारत सरकारसँग गर्ने सम्झौताका लागि ठोस प्रस्तावको ड्राफ्ट तयार भइसकेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण नेपालमा उत्पादन भएको बिजुली बेच्ने मिशन छ ।

‘बिजुलीको बजार खोज्न प्रधानमन्त्री भारत जान लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘भारत र बंगलादेशमा बिजुली बेच्ने एजेण्डा मुख्य हो ।’

अहिलेको प्रधानमन्त्रीको भ्रमण नेपालमा उत्पादन भएको बिजुली भारतमा कसरी बेच्न सकिन्छ भन्नेमै केन्द्रित भएको ऊर्जा, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । जो प्रधानमन्त्रीको भारत भ्रमणमा के कस्ता एजेन्डा प्रस्तु गर्ने भनेर ड्राफ्ट तयार गरिरहेका छन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा क्षेत्रका लागि ब्रेक थ्रु हुनेछ,’ स्रोतले भन्यो ।

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा २५ वर्षका लागि बिजुली बेच्ने सम्झौताको पनि ड्राफ्ट बनाइएको छ । यो सम्झौताबाट १० हजार मेगावाटसम्म बिजुली निर्वाधरुपमा भारतमा बेच्ने बाटो खोल्नेछ ।

‘नेपाल विद्युत प्राधिकरणले पटक पटक बिजुली बेच्न गरेको प्रस्तावलाई भारतीय पक्षले खासै चासो नदिइरहेको अवस्थामा प्रधानमन्त्रीस्तरीय सम्झौताबाट यसलाई टुंगोमा पुर्याउन खोजिएको हो,’ सम्झौताको ड्राफ्ट निर्माणमा संलग्न ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने ।

त्यसैगरी, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गर्ने, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको द्विपक्षीय सम्झौताको ड्राफ्ट तयारी गरिएको छ ।

त्यस्तै, ४०० केभी क्षमताको १२० किलोमिटर लामो बुटवल-गोरखपुर प्रशारणलाइनको शिलान्यास गर्ने तयारी छ ।


क्लिकमान्डु