बजेटमार्फत आईटी कम्पनीलाई विदेशमा शाखा खोल्दा लचिलो नीति बनाउने तयारी



काठमाडौं । नेपालमा दर्ता भई सञ्चालनमा रहेका प्रविधिमा आधारित कम्पनीलाई विदेशमा लगानी गर्न लचिलो व्यवस्था गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटले नेपालमा दर्ता आईटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्नुको साथैं विदेशमा बजारीकरण र अन्य क्षेत्रमा लगानी गर्न सहजै विदेशी मुद्रा लैजान दिने नीति लिने अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

नेपालबाट विदेशी मुद्रामा पैसा लैजान पाउँदा शाखा कार्यालय सञ्चालन गर्न सहज हुनुको साथैं विदेशी कम्पनीबाट सेवा खरिद गर्दै नयाँ नयाँ सफ्टवेयर बनाउन सकिने सरकारको विश्वास छ ।

हाल विदेशी लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ नेपाली कम्पनीलाई विदेशमा पैसा लैजान रोक लगाएको छ ।

राष्ट्र बैंकले केही वाणिज्य बैंकलाई शाखा कार्यालय खोल्न दिएको मोडालिटीमा आईटी कम्पनीलाई पनि नेपालबाट विदेशमा पैसा लैजान दिने गरी नीतिगत व्यवस्था गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘नेपालबाट विदेशका विभिन्न कम्पनीलाई सेवा दिईरहेका कम्पनीले नेपालमा भित्र्याएको विदेशी मुद्राको निश्चित प्रतिशत रकम ती कम्पनीलाई सहजै नेपालबाट बाहिर लैजान दिने गरी नीतिगत व्यवस्था गर्न लागिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने,‘हामीले नेपालबाट पैसा लैजान नदिँदा आईटी कम्पनी विस्तार गर्न कठिन भएको केही व्यवसायीको गुनासोपछि सेवा खरिद प्रक्रियालाई सरल बनाउनुको साथैं नेपालबाट विदेशमा मार्केटिङ, सेवा खरिद, कार्यालय सञ्चालन लगायतको प्रयोजनका लागि सहजै विदेशी मुद्रा लैजान दिने नीति लिन लिने योजना बनेको हो ।’


क्लिकमान्डु