कोशी प्रदेशमा ५ वर्षमा साढे ३ हजार किलोमिटर सडक निर्माण
मोरङ । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्यांकले देखाएको छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गरी तीन हजार चार सय ९५.७१ किलोमिटरमा काम भएको मन्त्रालयका सूचना अधिकृत इन्जिनियर ललित चौधरीले जानकारी दिए ।
मन्त्रालयका अनुसार आव २०७५/७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६/७७ मा ६१.५४, आव २०७७/७८ मा ५१.१३, आव २०७८/७९ मा १०६.१६ र आव २०७९/८० मा ७३.२७ गरी जम्मा ८३९.९ गरी ८८३.०९ किलोमिटर सम्पन्न गरिएको छ ।
आव २०७५/७६ मा ग्रावेल सडकतर्फ १२८.९, आव २०७६/७७ मा २११.३५, आव २०७७/७८ मा १७५.३१, आव २०७८/७९ मा ३८०.१९ र आव २०७९/८० मा ७४.८ गरी ९७०.५५ किलोमिटर निर्माण गरिएको छ ।
कच्ची सडकतर्फ आव २०७५/७६ मा १८१.३, आव २०७६/७७ मा ४७७.८२, आव २०७७/७८ मा १०९.१९, आव २०७८/७९ मा ९१.०७ र आव २०७९/८० मा १२५ गरी ९८४.३७ किलोमिटर निर्माण गरिएको छ ।
सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६.१८, २०७६/७७ मा आव ५२.२१, आव २०७७/७८ मा ४०.६१, आव २०७८/७९ मा ९८.७२, र आव २०७९/८० मा १२३.६७ गरी ३४१ .३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ ।
सोही अवधिमा ढलान सडकतर्फ १०.२६, सोलिङ सडकतर्फ २२.१९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताए । सोही अवधिमा २७३.८६ किलोमिटर सडकको ट्रयाक खुला गरिएको छ ।
मन्त्रालयले आव २०७५/७६ मा मोटरेबल पुल १०, आव २०७६/७७ मा १२, आव २०७७/७८ मा आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा ११ गरी ६६ वटा निर्माण सम्पन्न गरिएको जानकारी दिएको छ । सो अवधिमा १२६ वटा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।
सो अवधिमा सामुदायिक भवन १०५ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १५७ वटा निर्माणाधीन छन् । सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने ६ वटा निर्माणाधीन छन् । खेलकुद पूर्वाधारतर्फ ५० वटा निर्माण सम्पन्न भएका छन् भने ६ वटा निर्माण भइरहेका छन् ।
सो अवधिमा एकीकृत बस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ वटा निर्माणाधीन छन् । जनता आवास कार्यक्रमअन्तर्गत ४ हजार ५५१ निर्माण सम्पन्न भएका छन् भने २ हजार ४२८ निर्माणाधीन रहेको मन्त्रालयले जनाएको छ ।
सहरी सडक (ढलान) तर्फ ३ हजार ७५० किलोमिटर सम्पन्न भइसकेको छ भने ९.५ किलोमिटर निर्माण भइरहेको छ । सहरी सडक कालोपत्रेतर्फ १८ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने ४.२५ किलोमिटर निर्माणाधीन रहेको मन्त्रालयले जाएको छ ।
समीक्षा अवधिमा ४६ वटा पार्क निर्माण भएका छन् भने १० वटा निर्माण भइरहेका छन् । साथै १८ वटा बसपार्क निर्माण भएका छन् भने ४ वटा निर्माणको अवस्थामा छन् ।
त्यसैगरी गेट तथा भ्युटावर ११ वटा निर्माण सम्पन्न भएका छन् भने ५ वटा निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताए । सोही अवधिमा प्रहरी भवनतर्फ २९ वटा र अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भएका छन् भने १८ वटा निर्माणाधीन छन् ।
यसैगरी अन्य मर्मतसम्भारतर्फ १४८ वटा सम्पन्न भइसकेका छन् भने १८ निर्माण हुने क्रममा छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा भवन, खेलकुद मैदान, पार्कलगायत डीपीआरतर्फ १२५ सम्पन्न भइसकेका छन् भने १० वटा हुने क्रममा छन् ।
(रासस)