भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव पाण्डेले प्रहरीसमक्ष के भने ?



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलनका लागि शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको बयान दिएका छन् ।

प्रहरीसँगको वयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको बताएका छन् । भुटानी शरणार्थी प्रक्रिया टुंग्याउनका लागि मात्र त्यसको उपयोग गरिएको उनको भनाइ छ ।

स्रोतबाट प्राप्त बयानको अंश

केशवप्रसाद दुलालबाहेक कसैसँग पनि मेरो चिनाजान र सम्पर्क छैन । शरणार्थीसम्बन्धी प्रतिवेदन मेरो कार्यकालमा तयार भएको होइन ।

मेरो कार्यकालभन्दा पहिले नै प्रतिवेदन तयार भएको हो । प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिको नामावली समावेश भएकाले त्यतिबेला नै लेनदेनको काम भएको हो ।

म कार्यरत रहँदाको समयमा परिचय पत्रहरु वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानीय प्रशासन शाखाले गर्दछ ।

शरणार्थीको नाममा हुने अवैध चलखेल प्रति सचेत रहन शरणार्थी इकाई झापा र जिल्ला प्रशासन कार्यालय झापावाट सूचना तथा विज्ञप्ति जारी भएको थियो ।

गृह मन्त्रालय राजनीतिक प्रकृतिको तथा जनसम्पर्क मन्त्रालय भएकाले राजनीतिक रुपमा, व्यक्तिगत रुपमा र सुरक्षा तथा गुप्तचरी प्रक्रियाबाट सम्पर्क गर्ने तथा थप सूचना लिनुपर्ने हुन्छ । त्यसक्रममा कतिपय व्यक्तिसँग सम्पर्क भएको हो ।

उक्त सूचना प्राप्त भएपछि एअरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसँग समन्वयमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ ।

बदनियत राखी आर्थिक लेनदेनको लागि कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिएजस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन ।

म लोभिएको, झुक्किएको र कुनै रुपमा पनि संलग्न छैन । अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरुको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालीन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो ।


क्लिकमान्डु