अबको काम, डिजिटल ठगीको रोकथाम



अहिले स्मार्टको जमाना छ, फोनदेखि घडी तथा अन्य विभिन्न वस्तुहरु स्मार्ट भइसके । मानिस पनि कति स्मार्ट भए भन्ने कुराको मापन गर्ने एउटा प्रमुख आधार भनेको उसले कतिको नयाँ प्रविधिहरु प्रयोग गरिरहेको छ भन्ने अवस्था सिर्जना भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु तथा अन्य कम्पनीहरु पनि कत्तिको स्मार्ट भएको छ भन्ने कुरा उ कत्तिको प्रविधिमैत्री अर्थात् डिजिटाइज छ भन्नेमा निर्भर रहन्छ । डिजिटलाइजेशनले संस्थालाई स्मार्ट बनाउने मात्र होइन, खर्च पनि घटाउन सहयोग गर्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१५ जुलाई १ मा भारतलाई डिजिटल बनाउने लक्ष्यका साथ डिजिटल भारत अभियाको घोषणा गरेका थिए । अभियान शुरु भएको करिब ८ वर्षको अवधिमा भारतले यस अभियानबाट २२५० बिलियन भारतीय रुपैयाँको बचत भएको तथ्याङक सार्वजनिक भएको थियो ।

डिजिटलाइजेशनबाट काम छितो छरितो हुने र प्रयोगकर्ताहरुलाई सुविधा हुने भएतापनि यसको विकाससँगै यस सम्बन्धी जोखिमहरु पनि बढ्दै गइरहेको देखिन्छ ।

फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसनको अनुसार २०१७ मा आन्तरिक अपराध गुनासो केन्द्रमा ३ लाख अनलाइन ठगीको निवेदन प्राप्त भएको थियो, जसबाट १.४ बिलियनभन्दा बढी ठगी भएको देखिएको छ ।

सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज एण्ड म्यक्याफेले गरेको अध्ययनअनुसार साइबर अपराधबाट विश्वको अर्थतन्त्रलाई ६०० बिलियन डलर बराबरको नोक्शान भएको र यो विश्व अर्थतन्त्रको कूल ग्राहर्थ उत्पादनको ०.८ प्रतिशत रहेको जनाएको छ ।

विश्वब्यापी कोरोना महामारीपछि विश्वभर नै डिजिटल बैंकिङ कारोबारमा एउटा ठुलो क्रान्ति नै आयो । नेपालमा पनि यसले ठुलै फड्को मार्न सफल भएको छ । २०७७ असारमा १ करोड १३ लाख ६ हजार ७९७ मोवाइल बैंकिङका ग्राहकहरु रहेकोमा २०७९ माघमा २ करोड ३ लाख ६ हजार ५२४ पुगेको छ भने भर्खरै भर्खरै शुरु भएको क्यूआरमा आधारित भुक्तानी संख्या २०७९ माघमा ५७ लाख ८२ हजार २६५ पुगेको थियो ।

क्यूआरजस्तै विभिन्न वालेटहरुद्धारा भुक्तानी गर्नेहरुको संख्यामा उल्लेखनीय वृद्धि भई २०७९ माघमा १ करोड ६९ लाख ६० हजार ८२८ पुगेको छ । यो तथ्याङकले नेपालमा डिजिटल कारोबारमा उल्लेख्य फड्को मारेको देखाउँछ ।

सामान्यतया विभिन्न शीर्षकहरु दिएर डिजिटल माध्यमबाट ठगी भइरहेको पाइन्छ जसमध्ये कुनै सामाजिक संस्थाको नाममा कुनै विपत्ति वा अन्य कुनै सामाजिक कार्यमा सहयोग गर्ने भनेर चन्दा उठाउने, कुनै ब्यक्ति मरेको र उनको रकम यस्तै सामाजिक कार्यमा लगाउने भनेर रकम पठाउन लगाउने आदि ।

त्यसैगरी अन्तर्राष्ट्रिय टिकट खरिद, अनलाई गिफ्ट कार्ड खरिद गर्ने नाममा ग्राहकहरुको खाता नम्बर तथा अन्य सूचनाहरु चोरी गर्ने, सामाजिक सञ्जाल मार्फत ठगी, नक्कली रकम भुक्तानी अर्डर, अनलाईन खरिदमार्फत् भुक्तानी लिने तर सामान वितरण नगर्ने र गरेपनि कमसल खालको सामान वितरण गरेर ठग्नेजस्ता ठगीहरु भइरहेको देखिन्छ ।

विश्वव्यापी जोखिम र सूचनाको समाधान प्रदान गर्न संस्था ट्रान्स्युनियन अफ्रिकाले ४० हजार वेबसाईट र एपहरुको अध्ययन गर्दा २०२१ को प्रथम त्रयमासको तुलनामा २०२२ को प्रथम त्रयमासमा शंकास्पद डिजिटल ठगीहरु युकेमा ८५.२ प्रतिशतले बढेको थियो भने भारतमा ७१.४ प्रतिशतले बढेको, स्पेनमा ११.३ प्रतिशतले बढेको पाइएको थियो ।

यस्ता प्रकारका ठगीहरु अमेरिकामा २३.१ प्रतिशतले घटेको, क्यानाडामा ४०.६० प्रतिशले घटेको, ब्राजिलमा ४७.८ प्रतिशले घटेको, दक्षिण अफ्रिकामा २३.४० प्रतिशतले घटेको पाइएको छ । यस अध्ययन अनुसार बिमा, जुवा र ढुवानी क्षेत्रहरुमा ठगी बढेको पाइएको छ जसमा क्रमश १३४.५० प्रतिशत, ५०.१० प्रतिशत र ४२.७० प्रतिशतले ठगी बढेको देखिएको छ भने वित्तीय क्षेत्र, टेलिकम र उद्योगमा क्रमश ६३.६० प्रतिशत, २०.४० प्रतिशत र ७.६० प्रतिशतले ठगीहरु घटेको पाईएको छ ।

अध्ययनले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा अनलाइन ठगी भएको निष्कर्ष निकालेको थियो जस अनुसार ब्राजिल, दक्षिण अफ्रिका, नामिबिया र केन्यामा जुवा क्षेत्रमा, युके र क्यानाडामा बिमा क्षेत्रमा, चिली, भारत र फिलिपिन्समा ढुवानी क्षेत्रमा, अमेरिका, मेक्सिको र स्पेनमा टेलिकम क्षेत्रमा ठगी बढेको पाइएको थियो भने हङ्गकङ्गमा उद्योग क्षेत्रमा ठगी बढेको पाइएको थियो ।

कोभिड १९ पछि लकडाउन तथा घरैबाट काम गर्ने नीतिअनुसार अधिकांश मानिसहरु घरै बस्नुपरेकोले त्यो समय मानिसहरुले धेरै समय अनलाइनमा नै बिताउनु परेको थिया, जसको फलस्वरुप विभिन्न खालका साइबर आक्रमणमा ३०० प्रतिशतको वृद्धि हुन पुगेको देखिएकोे छ । यहि समयमा अनलाइन अपराधमा ७० प्रतिशतले वृद्धि हुन भएको र यस्ता अपराधहरु अधिकांशले स्मार्ट फोनको प्रयोगद्धारा गरेको देखिएको छ ।

अहिले नेपालमा पनि डिजिटल माध्ययमबाट हुने ठगीहरु दिनप्रतिदिन बढिरहेको छ । मानिसहरुलाई महंगो उपहार आएको छ, भन्सार कर तिर्न पैसा जम्मा गरिदिनुहोस् भनेर ठगी गर्नेदेखि लिएर फेसबुक तथा अन्य सामाजिक सञ्जाल ह्याक गरेर उनीहरुको साथीहरुलाई पैसा सापटी माग्ने, मानिसहरुलाई विदेश पठाइदिन्छु भनि अरु नै मानिसहरुको खातामा जम्मा गर्न लगाई ठगी गर्ने आदि अहिले चलिरहेको डिजिटल ठगीहरु हुन् ।

केही ठगहरुले त अरुको खाता चलाएबापत पैसा दिन्छु भन्दै सोझा मानिसहरुलाई फकाएर उनीहरुको खाता चलाएर ठगी गरेको पनि देखिएको छ ।

प्रविधिको विकाससँगै अहिले विश्वभर नै विभिन्न डिजिटल माध्यमबाट आक्रमण तथा ठगी भइरहेको सन्दर्भमा विभिन्न देशका बैंक तथा केन्द्रीय बैंकहरुलाई पनि यसको भयले सताइरहेको छ ।

सन् २०१६ मा बंगलादेशको केन्द्रिय बैंकमा साइबर हमला गरेर ८१ मिलियन डलर चोरी गरेको थियो भने त्यसको केहि समयपछि रसियाको केन्द्रीय बैंकले ह्याकरहरुले साइबर हमला गरेर उक्त बैंक र वाणिज्य बैंकको गरेर ३१ मिलियन डलर चोरी गरेको कुरा सार्वजनिक गरेको थियो ।

२०१९ मा आतुसोस सिङ, रञ्जित श्रीवास्तभ र योगेन्द्र नारायण सिंङले कार्डहरुको सुरक्षित कारोबार सम्बन्धि बिषयमा गरेको अध्ययनअनुसार कार्डहरुको भुक्तानीलाई बायोमेट्रिक पद्दतिद्वारा प्रमाणिकरण गरेर भुक्तानी गर्ने ब्यवस्था गरेमा सम्बन्धित ग्राहकको उपस्थिति चाहिने हुनाले यस्तो कारोबारको जोखिम न्यूनिकरण हुने निष्कर्ष निकालेका थिए ।

डिजिटल ठगीलाई रोक्नका लागि विभिन्न संस्थाहरु तथा अनुसन्धानकर्ताहरुले बिभिन्न सुझावहरु दिएको पाइन्छ जसमध्ये केही सुझावहरु यसप्रकार छन् ।

१. नियम तथा कानून अनुसार हुने गरी कारोबारको निगरानी राख्ने प्रक्रियाको विकास गर्ने ।
२. कारोबार हुने स्थानको कारोवारको आवश्यक्ता, क्षमता र डिजिटल उपकरणहरुको पहिचान विश्लेशण गर्ने ।
३. नेटवर्क तथा लिंकको सुरक्षा विश्लेशण गर्ने ।
४. सम्पूर्ण डिजिटल उपकरणहरुको एकिकृतरुपमा सावधानी रहने अलर्ट म्यानेजमेन्ट सूचनाको व्यवस्थापन गर्ने ।
५. कारोबारहरुको प्रमाणिकरणको लागि वान टाईम पासवर्ड वा बायोमेट्रिक पद्दति अपनाउने ।
६. शंकास्पद कारोबार पहिचानको लागि डाटा भिजुलाईजेशन गर्ने व्यवस्था ।

माथिका यी सुझावहरुका साथसाथै डिजिटल कारोबार गर्ने संस्थाहरुले जोखिम व्यवस्थापन नीति बनाउँदा राम्रोसँग रोकथाम गर्नको लागि राम्रोसँग ग्राहकहरुको प्रमाणिकरण गर्ने प्रक्रिया बनाउने, सम्बन्धित कारोबारको लागि छुट्टै जोखिमको स्तर निर्धारण गर्ने, वास्तविक समयमा नै जोखिमको संरक्षण गर्ने पूर्वाधारको विकास गर्ने, कारोवारको सुक्ष्म निगरानी गर्ने, पहिचान गर्ने र प्रमाणिकरण गर्ने कार्यलाई प्राथमिकता दिने, सूचना र रिपोटिङ्गलाई प्रभावकारी बनाउने, ठगी घटनाहरुको समिक्षा गर्ने, ठगी अनुसन्धान र ठगी रकमको असुली प्रक्रियालाई प्रभावकारी बनाउने, उपकरणहरुको सहि पृष्ठपोषण गर्ने ब्यस्था सम्बन्धि नीति तथा गाईडलाईनहरुमा ब्यवस्था गरेर सोको प्रभावकारी ढंगले कार्यान्वयन गरेमा जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालमा अहिले भइरहेको धेरैजसो डिजिटल ठगीमा सोझासाझा सर्वसाधारणहरुलाई लक्षित गरेर विभिन्न माध्ययमबाट ठगी गरिरहेकोले बैंक तथा वित्तीय संस्था तथा डिजिटल भुक्तानी कारोवार गर्ने संस्थाहरुले सर्वसाधारणहरुलाई बढीभन्दा बढी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर उनिहरुलाई शिक्षित बनाएर यस्ता कारोवारलाई सुरक्षित बनाउने प्रयास गर्नुपर्छ ।

सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु, मनी वालेट कम्पनी तथा अन्य डिजिटल कारोबार गर्ने कम्पनीहरु सबै मिलेर डिजिटल कारोबार सम्बन्धी यथेष्ट शिक्षा प्रदान गर्न सकेमा डिजिटल कारोबारप्रति ग्राहकहरुको विश्वसनियता बढ्न गई यस्ता कारोबारहरुको प्रभावकारिता बढ्नेछ ।

अब यस सम्बन्धी सम्पूर्ण सरोकारवालाको काम, डिजिटल ठगीको रोकथाम नै हुनुपर्छ, यस्ता ठगी रोक्न सक्यो भने यसले संस्थाहरुको खर्चमा पनि मितब्ययिता भई स्मार्ट कम्पनी, स्मार्ट देश निर्माणमा एउटा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

(लेखक मल्ल बैंकर हुन् । उल्लेखित विचार उनका निजी हुन् ।)


डा. बुद्धि मल्ल