आयात बढाउने र राजस्व उठाउने नीति परिर्वतन हुनुपर्छ : पवन गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले आयात बढाउँदै राजस्व उठाउने नीति परिवर्तन हुनुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा गोल्यानले राजस्व र आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुलक अर्थतन्त्र बनाउन जरुरी रहेको बताए ।

गोल्यानले उत्पादनमुलक उद्योगलाई बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगलाई २० प्रतिशत छुट दिन माग गरे ।

‘कृषि, जलविद्युत र पर्यटन क्षेत्रबाट मात्रै नेपालको आर्थिक विकास सम्भब छ,’ गोल्यानले भने, ‘पयर्टन उद्योगलाई अन्य उद्योग सरह सुविधा दिएर पर्यटन क्षेत्रमा लगानीका नयाँ नयाँ अवसर सिर्जना गर्नु पर्छ । नेपालमा शैक्षिक, कृषि, पर्यावरण पर्यटनको अवसर छ ।’

नेपालबाट निर्यात बढाउन आवश्यक रहेको, कृषि प्रशोधन केन्द्र, पुर्वाधार निर्माणमा ध्यान दिन गोल्यानले आग्रह गरे । कार्यक्रममा गोल्यानले कृषि क्षेत्रमा सरकारले दिईरहेको अनुदान उत्पादनका आधारमा स्थानीय तहबाट दिनु पर्ने माग गरे ।

उत्पादनमुलक र अनुत्पादक क्षेत्रका लागि कर्जाको ब्याजदर, कर्जा दिँदा पुँजी कोष अनुपातको आवश्यकता फरक बनायो भने उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्था प्रोत्साहित हुने गोल्यानले धारणा राखे ।

‘सरकारले र निजी क्षेत्रको सहकार्यमा हामीले अहिले देखिएका समस्या समाधान गर्नु पर्छ,’ गोल्यानले भने,‘एक पक्षको प्रयासले मात्रै अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन सक्दैन् । ’

गोल्यानले बिलासी सामानमा आयात प्रतिबन्ध लगाउनु भन्दा पनि कर बढाउनु पर्ने बताए ।


क्लिकमान्डु