बजेट ल्याउन २५ दिन हुँदा अर्थ सचिवको जिम्मेवारी पोखरेललाई



काठमाडौं । बजेट सार्वजनिक हुन २५ दिन बाँकी हुँदा अर्थसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । सरकारले अर्थ मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका अर्जुन पोखरेललाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

रायालाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अर्थ सचिवको जिम्मेवारी दिएका थिए । अर्थमन्त्री डा. प्रकाश शरण महत आएसँगै अर्थसचिव हेरफेर गरिएको हो ।

पोखरेल लेखा समुहका अधिकृत हुन् । सहसचिव हुँदा पोखरेलले अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र भन्सार विभागमा काम गरेका थिए । यस्तै पोखरेल कपिलबस्तु र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी थिए ।

सचिव बढुवा भएपछि पोखरेल मधेश प्रदेशको प्रमुख सचिव भएका थिए ।

यस्तै, पोखरेलले उद्योग सचिव र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव भएर पनि काम गरेका थिए ।


क्लिकमान्डु