वार्षिक ८० लाख स्क्यारमिटर उत्पादन गर्ने गरी टायल उद्योग दर्ता, ४ अर्ब लगानी



काठमाडौं । नेपालमा पछिल्लो समय टायल क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । वार्षिक ८० लाख स्क्वायरमिटर फ्लोर र वाल टायल उत्पादन गर्ने गरी कजारिया रमेश टायल लिमिटेडले उद्योग विभागमा कम्पनी दर्ता गरेको छ ।

विभागको तथ्याङ्कअनुसार वैशाख १७ गते उद्योग दर्ता भएको हो । कम्पनीमा स्वदेशी र विदेशी लगानी रहेको छ । गत वर्ष भारतको टायल कम्पनी कजारिया सेरामिक्सले नेपालमा लगानी गर्ने गरी सम्झौता गरेको थियो ।

भारतीय कम्पनी कजारिया सेरामिक्स लिमिटेडले नेपालको व्यापारिक समूह रमेश कर्पसँगको सहकार्यमा नेपालमा टायल उत्पादन कम्पनी स्थापना गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नवलपरासी जिल्लाको वर्दघाटमा उद्योग स्थापना गर्ने भएको छ ।

विभागमा दर्ता भएअनुसार उद्योग स्थापनाका लागि ४ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाइएको छ । कम्पनीकाअनुसार उक्त उद्योगबाट ५१५ जनाले रोजगारी पाउनेछन् ।

४ अर्ब लगानीमा निर्माण हुने उक्त उद्योग नेपालकै ठूलो टायल उद्योग हुने भएको छ । यसअघि सो रकम बराबरको रकम टायल क्षेत्रमा लगानी हुन सकेको छैन ।

त्यसैले, अहिले शतप्रतिशत आयात भइरहेको टायल क्षेत्रमा आत्मनिर्भर हुने अपेक्षा लिएको छ ।


क्लिकमान्डु