शतप्रतिशत आयात हुने टायल क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी



काठमाडौं । शतप्रतिशत आयात हुने टायल क्षेत्रमा उद्योगीले लगानी गर्न थालेका छन् । ठूला घरानाका व्यवसायीले टायल क्षेत्रमा लगानी सुरु गरेका हुन् ।

नेपालले वार्षिक अर्बौं रुपैयाँको टायल आयात गरी आपूर्ति हुँदै आएको छ । बजारमा टायलको उच्च माग छ । तर, स्वदेशमा पर्याप्त उत्पादन हुन नसक्दा नेपालले विभिन्न देशबाट आयात गरी बजारको माग धान्दै आएको छ ।

नेपालले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ अर्ब ६ करोड ७६ लाख रुपैयाँको टायल आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार ९ महिनाको अवधिमा १ करोड १७ लाख ९७ हजार वर्ग मिटर टायल आयात भएको छ । टायल आयातबाट नेपालले ३ अर्ब ९७ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले गत आर्थिक वर्षमा १० अर्ब ६० करोड ४ लाख रुपैयाँको २ करोड १३ लाख ९ हजार वर्गमिटर टायल आयात गरेको थियो । जसबाट ५ अर्ब ८५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

नेपालमा टायलको उच्च माग भए पनि लगानी हुन सकेको थिएन । तर, चालू आर्थिक वर्षको ९ महिनामा ठूला लगानीमा तीनवटा उद्योग दर्ता भएका छन् । ती उद्योगले १ अर्बदेखि करिब ३ अर्ब रुपैयाँसम्म लगानी गर्ने भएका छन् ।

उद्योगीहरुले नेपालमै टायल उत्पादनमा उच्च सम्भावना देखिएपछि लगनी गरेका हुन् । आगामी दिनमा विस्तारै लगानी बढाउँदै जाँदा टायलमा आत्मनिर्भर हुने व्यवसायीको विश्वास छ ।

उद्योग विभागको तथ्यांकमा चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा सुनसरीको दुहबी नगरपालिकामा अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेड उद्योग दर्ता भएको छ । त्यस्तै, नवलपरासीको रामग्राम नगरपालिकामा सेराप्रो नेपाल र बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पशुपति सिरामिक्स प्रालि उद्योग टायल उत्पादन गर्ने प्रतिशद्धतासहित दर्ता भएका छन् ।

कुन उद्योगमा कति लगानी ?

भारतीय कम्पनीसँगको सहकार्यमा २ अर्ब लगानी गर्दै मुरारका ग्रुप

नेपालको प्रख्यात व्यावसायिक घराना मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३ मिलियन वर्गमिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

मुरारका ग्रुपले फागुनमा भारतीय कम्पनी सोमानीसँग सम्झौता गरेर नेपालमा गुणस्तरीय टायल उत्पादन गर्ने जनाएको हो ।

‘मुरारका ग्रुप ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध छ,’ सहकार्यबारे मुरारका ग्रुपका प्रबन्ध निर्देशक पशुपति मुरारकाले भने, ‘यो सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास छ ।’ यो सहकार्यले नेपालमा रोजगारी सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

सहकार्यसँगै मुरारका ग्रुपले नवलपरासीमा १ अर्ब ८१ करोड १७ लाख ४८ हजार कुल पुँजीसहित सेराप्रो नेपाल प्रालि उद्योग दर्ता गरेको छ । कम्पनीले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस भित्तामा लगाउने टायल उत्पादन गर्नेछ । कम्पनीका अनुसार उक्त उद्योगमा २३७ जनाले रोजगारी पाउनेछन् ।

सवा ३ अर्ब लगानीमा टायल उत्पादन गर्दै अरिहन्त

टायल क्षेत्रमा सबैभन्दा बढी अरिहन्त इन्फ्रास्ट्रक्चरले लगानी गर्ने भएको छ । विभागमा दर्ता गरेको विवरणअनुसार कम्पनीले सुनसरीमा ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार पुँजीको उद्योग दर्ता गरेको हो ।

अरिहन्त ग्रुपद्वारा सञ्चालित अरिहन्त इन्फ्रास्ट्रक्चरले टायल उत्पादन गर्ने गरी लगानी थप गरेको हो । कम्पनीले कोइला, कप्पर, ब्याट्री, कन्डक्टर, जिपसम, रेजिनजस्ता वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । विराटनगरमा कार्यालय रहेको कम्पनीले इटहरी र वीरगन्जका दुई शाखाबाट कारोबार गर्दै आएको छ ।

दुई दशकदेखि व्यापार क्षेत्रमा कारोबार गर्दै आएको अरिहन्त ग्रुप अटोमोबाइल, ट्रेडिङ र रेमिट्यान्स क्षेत्रमा संलग्न रहेको कम्पनीले टायलमा पनि लगानी गर्न खोजेको हो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीमा गिरीशकुमार लुनिया अध्यक्ष हुन् । कम्पनीले हालै विभागमा उद्योग दर्ता गरी वार्षिक ७४ हजार ७२३ भन्दा बढी टन पीजीभीटी/नानो टायल/पोर्सिलेन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उद्योगले १२ हजार १५० टन जीभीटी टायल, १५ हजार ५२५ टन वाल टायल, ६ हजार टन सरसफाइसम्बन्धी वस्तु, ३० हजार ८८० टन जिप्सम बोर्ड, ६० हजार टन जिप्सम पाउडर, ६ हजार ७ सय ५० टन ग्रेनाइट र २ हजार ८ सय टन क्वार्ज उत्पादन गर्ने उल्लेख छ ।

कम्पनीले ६८५ जनालाई रोजगारी दिनेछ । सन् २०२२ मा कम्पनीले ८४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले कोइला, कप्पर, ब्याट्री, कन्डक्टर, जिपसम, रेजिनजस्ता वस्तुको व्यापारबाट उक्त आम्दानी गरेको हो ।

विदेशी र स्वदेशी लगानीमा पशुपति टायल

विभागमा दर्ता भएअनुसार पशुपति सिरामिक्स प्रालिले वार्षिक ८० लाख पिस वाल र फ्लोर टायल उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको छ ।

कम्पनीले कुल पुँजी ९५ करोड लगानीमा बाराको जितपुरसिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ । कम्पनीमा ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी लगानी छ ।

त्यस्तै, यो वर्षको सुरुमै नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’ आएको थियो । शम्भुनाथ झाले २ अर्ब लगानी गरेको पहिलो उद्योगले अहिले टायल उत्पादन गर्दै आएको छ । झाले इटालीबाट उच्चस्तरीय र आधुनिक प्रविधि ल्याएर बाराको जितपुरमा उद्योग स्थापना गरी टायल उत्पादन गर्दै आएका छन् ।

डिजाइनदेखि नामसम्म नेपालको पहिचान झल्कियोस् भन्नेमा विशेष ध्यान दिई टायलका प्रडक्टका नाम फेवा, डाँफे र गुँरास राखिएको छ । कम्पनीमा दैनिक १० हजार टन माटो, बालुवा र ढुंगा खपत हुन्छ । जसबाट दैनिक ३० हजार वर्ग फिट टायल तयार भइरहेका छन् । ती टायल घरेलु तथा व्यावसायिक भवनका लागि योग्य रहेको कम्पनीको भनाइ छ ।


अरिष्मा मोक्तान